चितवनः लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आरले समाजसेवी बालगोपाल चुकेले दिनु भएको जग्गामा दुई करोड खर्चेर भवन बनाउन शुरु गरेको छ । भरतपुर महानगरपालिका वडा नं. ३ नारायणगढमा चुकेले दिनु भएको १० धुर र क्लबले थप १० धुर खरिद गरेर भवन निर्माण शुरु गरिएको हो ।
भवन निर्माण समितिका संयोजक तथा पूर्व डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेका अनुसार रु. १ करोड बराबरको जग्गा बालगोपालले निःशुल्क उपलब्ध गराएपछि सोही ठाउँमा क्लबले थप १० धुर रु. १ करोडमा खरिद गरी भवन निर्माणका लागि शिलन्यास गरिएको छ । भवनको लायन्स अन्तर्राष्ट्रियका पूर्व निर्देशक बालकृष्ण बुर्लाकोटी र लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनका एरिया लिडर राजन लम्सालले शिलन्यास गर्नुभएको हो ।
नेपालमा १५ वटा लायन्सका डिष्ट्रिक क्रियाशील छन् । ती डिष्ट्रिकमध्ये आफ्नै प्रशासकीय भवनको सिलान्यास गर्ने डिष्ट्रिक ३२५ आर पहिलो हो । हाल यस डिष्ट्रिकमा १८७ वटा लायन्स क्लबहरूमा ४,४१० जना लायन सदस्यहरू आवद्ध रहेको उहाँले जानकारी दिनुभयो ।
चुकेले प्रशासकीय भवन रु.२ करोडको लागतमा १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो । सो कार्यका लागि हालसम्म करिब रु.४५ लाख संकलन भइसकेको र बाँकी रकम पनि चाँडै संकलन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रति लायन सदस्य रु ३,००० का दरले सहयोग संकलन गरेर भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।
इन्जिनियर उमेश ढकालका अनुसार भवनको पहिलो तला कार्यालय प्रयोजनको रुपमा रहनेछ भने दोस्रो तलामा दुईवटा हल रहने गरी नक्सा तयार गरिएको छ । शिलन्यास समारोहमा उपस्थित रहनु भएका बुर्लाकोटी र लम्सालले भवन निर्माणका लागि रु. ५५ हजार ५५५ प्रदान गर्नुभयो ।
डिष्ट्रिक गर्भनर नवराज सापकोटाले भवन निर्माणका लागि जग्गादाता चुके र चुके परिवारको महत्वपूर्ण भूमिका रहेको बताउँदै भवन निर्माण सम्पन्न भएसँगै क्लबका गतिविधि बढाउन सहयोगी हुने छ । व्यवसायी बालगोपाल चुके चितवनका समाजसेवीका रुपमा परिचित हुनुहुन्छ । उहाँ लायन्सका नेतृत्वकर्ता समेत रहनु भएको छ ।








