चितवनः स्वास्थ्य बीमा सेवाको सिस्टम (प्रणाली) मा अत्याधिक चाप परेर नचल्दा देशभरका बिरामीहरु प्रभावित भएका छन् । टिकट काट्न, भुक्तानी दिन अस्पतालका कर्मचारीले दावी पेश गर्न समेत प्रणाली नचल्दा समस्या भएको छ ।
प्रणाली राम्रोसँग नचलेपछि लामो समय पालो कुरेर बिरामी फर्किनु पर्दा प्रत्यक्ष रुपमा मारमा परेका छन् । भरतपुर अस्पताल स्वास्थ्य बीमा कार्यक्रमका इन्चार्ज लिलाधर पौडेलले गएराती ११ बजेसम्म बसेर काम गर्दा समेत दिउँसोको दावी पेश गर्न कठिन भएको बताउनुभयो । उहाँका अनुसार नियमित रुपमा बिरामी र आफन्तहरु आफ्नो कार्यालयमा आएर गुनासो गर्ने गरेका छन् ।
बिलिङ्ग काउन्टरमा पटकपटक झगडा पर्ने गरेको छ । पौडेलले भन्नुभयो “बुधबार मात्रै पाँच सयभन्दा बढी बिरामी टिकट काट्न नसकेर फर्किएका छन् ।” दिनभर लगाएर एक हजार ६ सय २६ जनाको टिकट काटिएको उहाँले जानकारी दिनुभयो । सहज टिकट काटिएको भए दुई हजार दुई सय हाराहारी बिरामी बीमा मार्फत् उपचार गर्न आएका थिए ।
भरतपुर अस्पतालमा बीमाको टिकट काउन्टर आठ वटा छन् भने आकस्मिकमा समेत बीमाको टिकट काटिन्छ । टिकट काट्न मात्रै होइन दावी पेश गर्न समेत निकै कठिनाई भएको पौडेल बताउनुहुन्छ । अस्पतालको टिकट काउन्टरमा कार्यरत वसन्ती चिलवाल विगत चार दिनदेखि यता बिहान १० बजेपछि नयाँ टिकट काट्नै नसकिएको बताउनुहुन्छ ।
बीमा बोर्ड अन्तर्गत पाँच सय ५० अस्पतालहरुले सेवा दिएका छन् । ती मध्ये केही अस्पतालले बोर्डलाई पत्राचार गरी समस्याका बारेमा अवगत गराएका छन् । विराट मेडिकल कलेज, कोशी अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगायतका अस्पतालले यही अवस्थामा सेवा दिनै कठिन भएको पत्र बोर्डमा पठाएका छन् ।
बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बोर्ड स्थापना हुँदा परीक्षणका रुपमा दुई चार लाख सेवाग्राहीका लागि जडान गरिएको प्रणालीको स्तरोन्नती समयमा गर्न नसकिएका कारण अहिले समस्या आएको बताउनुभयो । उहाँका अनुसार बोर्डमा जडान गरिएका प्रणालीहरुको म्याद सकिसकेको छ । अहिले चाप अत्याधिक बढेको र प्रणालीमा सोही अनुरुपको स्तरोन्नती भईनसकेकाले समस्या भएको हो । आफ्नो प्रत्यक्ष निगरानीमा प्राविधिक टोलीले काम गरिरहेको भन्दै उहाँले उनीहरुको भनाईमा हप्ता दश दिनमा अहिले देखिएको समस्या समाधान हुनेछ । प्राविधिक काम भएकाले भईनसकेसम्म केही भन्न नसकिने उहाँको भनाई छ ।
काफ्लेले भन्नुभयो “मैले गर्ने प्रयत्न गरिरहेको छु, केही डिभाईसहरु किनेर जडान गर्ने काम भईरहेको छ । सिस्टम अपग्रेड भनेको महिनौं लाग्ने काम हो ।” अहिले बोर्ड अन्तर्गत दैनिक ८० हजार हाराहारीले सेवा लिईरहेका छन् । बोर्डमा जोडिनेको संख्या ६५ लाख नाघेको छ । उच्च चापका कारण कम क्षमताको प्रणालीले धान्न नसकेको हो ।
गत वर्षको नौ महिना अवधिको देशभरीका अस्पतालबाट जारी गरिएका कागजातहरु फाईलहरु क्र्यास भएपछि पुनः पठाउन समेत भनिएको थियो । धेरै बिरामीलाई सेवा दिने ठूला अस्पतालहरु पुनः सबै फाईल पठाउन नसकेपछि नोक्सान व्यहोरेका थिए ।








