क्लिक खबर डेक्स, १३ कात्तिक :
देशका विभिन्न भागमा अहिले पश्चिमी वायु र बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको आंशिक प्रभाव परेकाले वर्षा भइरहेको छ । अरब सागरमा बनेको न्यून चापीय प्रणालीले पनि मौसममा थप प्रभाव पारेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
धान भित्र्याउने मुख्य समयमा परेको बेमौसमी पानीका कारण किसानहरू अत्यन्तै प्रभावित भएका छन् । काटिएको धान खेतमै भिज्ने, बिग्रने तथा नकटेको धान ढल्ने समस्या देखिएको छ । वर्षभरको परिश्रमबाट उत्पादन भएको अन्न खेतमै नोक्सान हुने सम्भावना बढेपछि किसानहरूको मन अमिलो बनेको छ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने र वर्षा जारी रहने अनुमान गरिएको छ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ भने गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात दुवै हुन सक्ने विभागले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यम हिमपात हुने पूर्वानुमान गरिएको छ ।
मौसम विभागले वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा यात्रा गर्नेहरूलाई सतर्क रहन र किसानहरूलाई धान तथा अन्य बालीको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।






