चितवनः भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत बिद्युतीकरणको कामलाई तिब्र पारिएको छ । आगामी चार महिनामा काम सक्ने गरी छठ पश्चात कामलाई तिब्रता दिन लागिएको हो । ।

नेपाल बिद्युत प्राधिकरणको पोखरा–भरतपुर बितरण प्रणाली सुदृढिकरण आयोजनाले भूमिगत बिद्युतीकरणको काम गरिरहेको छ । अहिले तार बिच्छ्याउने काम ६५ प्रतिशत सकिएको छ । यो सकिए संगै घरमा जोड्ने काम गरिने छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले भन्नुभयो “ठेकेदार कम्पनीले छठ लगत्तै तिब्र गतिमा काम गरेर भरतपुरको काम चाँडो सक्ने लक्ष्य लिएको छ ।” यहाँको काम ७५ प्रतिशत सकिएको बताउँदै उहाँले यहाँ पाइप जडान, डिभाईस जडान, फाउण्डेसन निर्माण लगाएता कामहरु सकिएको बताउनुभयो ।

उहाँका अनुसार भरतपुर र पोखराको काम सक्नका लागि समय थप गरि सन् २०२६ जुलाई सम्म पु¥याईएको छ । पछिल्लो तेस्रो पटक असोज अन्तिम साता समय थप गरिएको उहाँले जानकारी दिनुभयो । पोखरामा बिद्युत भूमिगतको काम ६० प्रतिशत सम्पन्न भएको उहाँले बताउनुभयो ।

केन्द्रिय बस ट्रमिनल देखि गोन्द्राङ् सम्मको सडकमा पहिला ३३ केभिए लाईन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र ४ सय भोल्टको लाइनलाई भूमिगत गरिने उहाँको भनाई छ । पछिल्लो सम्झौता अनुसार भरतपुर महानगरपालिका भित्र चनौली लाईन जडानका लागि भरतपुर महानगरको मुख्य शहरी क्षेत्रमा भूमिगत मार्फत काम गर्दै लगिएको छ । भरतपुर महानगर भित्र बिद्युतीय तार भूमिगत गर्नका लागि रु १ अर्ब ४० करोड लागत लाग्ने छ । सुरुवाती समयमा रु १ अर्ब ३० करोड वजेट भरतपुरलाई बिनियोजन गरिएको थियो । काम थपिए संगै रु १० करोड थप गरिएको हो ।

निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो । सन् २०२१ अक्टोबर देखि ठेक्का सम्झौता गरि काम सुरु गरिएको हो । ठेक्का सम्झौता अनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिए संगै पटक पटक म्याद थप गरेर कामलाई अघि वढाईएको हो । एशियाली बिकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस !