चितवनः बिक्रि गरेको दुधको भूक्तानी पाउन कठिन भएपछि जिल्लाका दुग्ध उत्पादक सहकारी संघहरुको छाता संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले आँफै दुध प्रसोधन थालेको छ । डेरी प्लान्ट भाडामा लिएर काम सुरु गरिएको हो ।
संघले रत्ननगर नगरपालिका वडा नम्बर ५ झुवानीमा गौरीधारा डेरीको उद्योग भाडामा लिएर दुध प्रसोधनको काम सुरु गरेको हो । संघले भरतपुर महानगरपालिका वडा नम्बर १५ फूलबारीमा ५ कठ्ठा जग्गा खरिद गरेको छ । सो जग्गामा दिर्घकालिन रुपमा उद्योग संञ्चालन गर्न बागमती प्रदेश सरकारले रु ५० लाख बिनियोजन गरिसकेको छ । संघका जिल्ला अध्यक्ष किशोर वगालेका अनुसार अस्थायी रुपमा झुवानीमा दुध प्रसोधन गरेर घ्यू, नौनी, पनिर, खुवा, दुध, दही, मोही उत्पादन गर्न सुरु गरिएको हो । अहिलेको प्लान्टमा एक हजार लिटर दुध सम्म प्रसोधन गर्न सकिने छ ।
आफ्नै प्लान्ट तयार भएपछि २ हजार लिटर दुध दैनिक प्रसोधन गर्न सकिने उहाँको भनाई छ । क्रमश यसलाई वढाएर १२÷१५ हजार लिटर सम्म प्रसोधन गर्न सकिने उहाँ बताउनुहुन्छ । सो पश्चात आइसक्रिम, चक्लेट लगाएतका पदार्थ उत्पादन गरिने उहाँले जानकारी दिनुभयो । सबै दुध प्रसोधन गर्न लागेको नभएर सरकारी र नीजि क्षेत्रका डेरीलाई सन्देश दिनका लागि पनि संघले काम सुरु गरेको उहाँको भनाई छ । हाल जिल्लामा दैनिक ३ लाख ५० हजार लिटर दुध उत्पादन हुने गर्दछ । जस मध्ये १ लाख ५० हजार लिटर दुध बिक्रिका लागि वजारमा आउने गर्दछ ।
यहाँबाट काठमाडौं, पोखरा, हेटौडा लगाएतका सहरमा रहेका डेरी उद्योगहरुले दुध लाने गर्दछन् । सहकारीहरुबाट लगिएका दुधको रु ८२ करोड भन्दा बढी भूक्तानी पाउन बाँकी छ । जस मध्ये रु ४२ करोड हाराहारी दुग्ध बिकास संस्थान (डिडिसी)को बाँकी छ भने अरु नीजि डेरीको रहेको छ । जिल्लाका ११५ वटा सहकारीमा दुध संकलन हुने गर्दछ । ती सहकारीमा ४० हजार भन्दा बढी किसान जोडीएका छन् । वगाले दुधको भूक्तानीको समस्या र मिल्क होलिडे हुन नदिन आफैं प्रसोधन सुरु गरेको बताउनुहुन्छ ।








