
चितवनः आँखाको दृष्टि जोगाउन निजयमित परिक्षण आबश्यक रहेको चिकित्सकले बताएका छन् । नियमित आँखाको परिक्षणले आँखामा हुने समस्या पहिचान गर्न सकिने भएकाले दृष्टि जोगाउन सहज हुने नेपाल नेत्रज्योती संघ द्धारा संञ्चालीत भरतपुर आँखा अस्पतालकी डाक्टर कुमुदिनी सुवेदीले बताउनुभयो ।
बिशेष गरी बच्चाहरुको आँखामा थाहानै नभई दृष्टि कम्जोर हुने गरेकाले उनीहरुको आँखा परिक्षण समयमानै गर्नुपर्ने हुन्छ । समयमानै आँखाको परिक्षण गरेर चस्माको प्रयोग गर्न सकेमा दृष्टि जोगाउन सकिने उहाँले बताउनुभयो । आँखामा हुने मोतियाविन्दु, मधुमेह, जलविन्दु जस्ता समस्याले आँखाको दृष्टि गुम्ने भएकाले यी रोग पत्ता लगाउनका लागि पनि नियमित परिक्षण आबश्यक पर्ने हुन्छ ।
नेपालीहरुमा ० दशमलब ३५ प्रतिशत दृष्टिबिहिन रहेको बताउँदै उहाँले यसलाई सानै उमेरमा उपचार गर्न सके अन्त्य गर्न सकिने बताउनुभयो । ३ प्रतिशितले बिभिन्न कारणले दृष्टि गुमाउने गरेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय मधुमेह भएका व्यक्तिहरुमा आँखाको परिक्षण गर्नुपर्ने हुन्छ । मधुमेहले आँखाको रेटिनामा आक्रमण गरी दृष्टि गुमाउने गरेको उहाँले बताउनुभयो ।
४० वर्ष कटेपछि सबैले नियमित आँखाको परिक्षण गर्नुपर्ने उहाँको सुझाब छ । “यो उमेर कटेपछि जलविन्दुको समस्या वढी देखिने गर्दछ ।” उहाँले भन्नुभयो । उमेर वढेपछि मोतियाविन्दुको समस्या बढ्ने गर्दछ । यसका लागि पनि नियमित परिक्षण आबश्यक हुने गरेको उहाँले बताउनुभयो । दृष्टि जोगाउनका लागि आफ्नो आँखाको मायाँ गर्नुपर्ने हुन्छ । जसले गर्दा समयमानै रोग पत्ता लागेमा उपचारको माध्यमबाट दृष्टि जोगाउन सकिने सुवेदीको भनाई छ । आँखाको नानिमा हुने समस्यालाई सामान्य रुपमा लिन नसकीने उहाँले बताउनुभयो । जसले गर्दा आफ्नो संसार नै अध्यारो बन्न सक्ने उहाँको भनाई छ ।