चितवनः जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये ६ जनामा औलो रोगको संक्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउन यता उनीहरुमा यो रोगको संक्रमण देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो रोगको संक्रमण भेटिनेमा ३ जना भरतपुर महानगरपालिका रहेका छन् भने २ जना खैरहनी नगरपालिकाका र एक जना राप्ती नगरपालिकाका रहेका छन् । संक्रमितहरु ३४ वर्ष देखि ४४ वर्ष उमेर समुहका रहेका कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो । उहाँका अनुसार बिभिन्न देशमा र नेपालका बिभिन्न जिल्लामा रोजगारीका शिलशिलामा गएर फकिएकाहरुमा यो रोगको संक्रमण देखिएको हो । उहाँले भन्नुभयो “भारतबाट आएका ४ जना, कोरीयाबाट फर्किएका १ जना र नेपालको सुनसरीबाट फर्कीएका एक जनामा यो रोगको संक्रमण देखिएको हो ।”

जिल्लामा गत आर्थिक वर्षमा १० जनामा यो रोगको संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । बिगत चार वर्ष देखि जिल्लामानै रहेका व्यक्तिमा यो रोगको संक्रमण नदेखिएको उहाँले बताउनुभयो । औलो रोग पोथी लामखुट्टेले टोक्दा औलो रोग सर्ने गर्दछ ।

यस रोगबाट बच्न पानीका खाल्डाखुल्डी पुर्नु पर्ने, झुलको प्रयोग नियमीत गनर्नुपर्ने, संकास्पद देखिए तत्काल चिकित्सकको परामर्शमा जानु औलोबाट बच्ने मुख्य उपाय रहेको कार्यालयले जनाएको छ । नेपाललाई सन् २०२६ सम्म औलो मुक्त बनाउने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !