चितवनः आन्दोलनको क्रममा जिल्लाका ७९ वटा सरकारी कार्यालयमा क्षति भएको छ । निजी क्षेत्रका १७ वटा व्यवसायिक र निजी घरहरुमा क्षति पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार क्षति पुगेका कार्यालयहरुको मूल्यांकनका लागि सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्माको संयोजकत्वमा सात सदस्यीय टोली परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सहित सरकारी कार्यालय, महानगरपालिका, नगरपालिका, गाउँपालिका, वडा कार्यालयहरु आगलागी र तोडफोडबाट क्षतिग्रस्त भएका छन् ।

उहाँका अनुसार तथ्यांक लिने काम भईरहेकाले एकिन तथ्यांक आउन केही समय लाग्ने छ । सो क्रममा तीन वटा पार्टी कार्यालयमा क्षति पुगेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

नेता, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, पत्रकार, सञ्चारगृहमा तोडफोड र आगजनी भएका छन् । निजी घरहरुमा भएको तोडफोडको संख्या एकिन तथ्यांक आईनसकेको उहाँले जानकारी दिनुभयो ।

जलेर कार्यालय ध्वस्त भएका कार्यालय सरसफाई गर्न थालिएको छ । ती कार्यालय परिसरमा बसेर कर्मचारीले मिल्ने जति सेवा दिन थालेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो “सक्ने सेवा दिने, नसक्ने सेवाका बारेमा सूचना दिने गरिएको छ ।”

कैदीबन्दी फर्किने क्रम जारी

यसैगरी जिल्ला कारागार भरतपुरबाट भागेका कैदीबन्दीहरु फर्किने क्रम जारी रहेको छ । हालसम्म ३०० जना कैदीबन्दी फर्किएका छन् । १४ जना अन्य कारागारका समेत यहाँ सम्पर्कमा आएका छन् । कारागार कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुंगानाका अनुसार यहाँबाट गएका ७५० जना मध्ये ५० जना बाहेक अरु सम्पर्कमा छन् । आएका मध्ये २७ महिला हुन् भने बाँकी पुरुष हुन् । कारागारमा ४६ जना महिला कैदीबन्दी थिए ।

प्रतिक्रिया दिनुहोस !