चितवनः भरतपुर अस्पतालमा उपचारका क्रममा स्क्रब टाइफसका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वर्दघाट नगरपालिका वडा नम्बर १३ की ३६ बर्षिय महिला रहेकी छन् ।उनको आज बिहान मृत्यु भएको हो ।
अस्पतालका प्रबक्ता डा. रामप्रसाद सापकोटाका अनुसार भदौं ४ गते अस्पतालमा भर्ना भएकी उनको सघन उपचार कक्षमा मृत्यु भएको हो । छारे रोगको समस्या समेत रहेकी उनको उपचारका क्रममा आज बिहान १ः१५ वजे मृत्यु भएको हो ।
जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये यस आर्थिब वर्षमा ७३ जनामा स्क्रब टाईफस देखिएको छ । जस मध्ये ५८ जना चितवनका हुन भने १५ जना जिल्ला बाहिरका रहेका छन् । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार १ हजार ५३० जनाको परिक्षणका क्रममा उनीहरुमा संक्रमण देखिएको हो । स्क्रब टाइफस ओरिएन्टा सुसुगामुसी नामको ब्याक्टेरियाबाट हुने सङ्क्रामक रोग हो ।
उहाँले स्क्रब टाइफस नियन्त्रणका लागि जनचेतना फैलाउनुका साथै समयमै उपचार गर्नु आवश्यक रहेको बताउनुभयो । सरसफाइमा विशेष ध्यान दिन, झाडी क्षेत्रबाट बच्न र लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्नुभयो । यो रोग मानिसबाट मानिसमा सर्दैन ।
रुपाखेतीका अनुसार माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, वा घर वरिपरिको फोहर क्षेत्रमा बस्छ । रोग नियन्त्रणका लागि उहाँले खेतबारी, वनजङ्गल वा घाँस काट्न जाँदा पूरै शरीर ढाक्ने कपडा लगाउने, सकेसम्म जुत्ता प्रयोग गर्न, घाँसबारी वा चउरमा गुन्द्री वा दरी ओछ्याएर मात्र बस्न तथा भुइँमा सुत्न वा बस्न नहुने सुझाव दिनुभयो । मुसा नियन्त्रणका लागि अन्न भण्डारण सही ढङ्गले गर्नुपर्ने उहाँले बताउनुभयो ।
यो रोग लागेमा उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटभन्दा बढी), अत्यधिक पसिना आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, शरीरका मुख्य अङ्गहरू प्रभावित हुने, तथा कीराले टोकेको स्थानमा रातो दाग देखिने र पछि कालो दाग बस्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस !