चितवनः देशभरका एम्बुलेन्स चालकहरु यतिबेला आन्दोलित बनेका छन् । चालकहरुले आज एकै पटक देशभरका ४० जिल्लामा ज्ञापनपत्र बुझाएका हुन् ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपालको आव्हानमा चितवन सहित विभिन्न ४० जिल्लामा ज्ञापनपत्र बुझाईएको केन्द्रीय अध्यक्ष नवराज लामिछानेले जानकारी दिनुभयो । स्वास्थ्य ऐन २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्रै एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नविकरण गर्न दिनु पर्ने लगायतका माग संघले गरेको छ ।
यसैगरी एम्बुलेन्स चालकलाई स्वास्थ्य तालिमको व्यवस्था गर्नुपर्ने, सबै अस्पतालमा एम्बुलेन्स पार्किङको व्यवस्था हुनु पर्ने, सरकारले चालकलाई स्वास्थ्य सामग्री, एम्बुलेन्समा आवश्यक औषधि, चालकलाई सुरक्षा पोशाक व्यवस्था गर्नुपर्ने संघको माग छ । सबै जिल्लामा एउटै माग राखेर प्रमुख जिल्ला अधिकारी मार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ज्ञापनपत्र पेश गरिएको हो ।
यस अघि केन्द्रीय समितिले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र पेश गरिसकेको छ । लामिछानेले आफ्ना मागप्रति सरकार सकारात्मक नभएपछि देशैभरीबाट मन्त्रीज्यूलाई ज्ञापनपत्र पठाउन लागिएको बताउनुभयो । देशभर ६ हजार एम्बुलेन्स रहेका छन् । ती मध्ये ८० प्रतिशत ऐनका कारण नविकरण हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामी सरकारको नीति निर्देशन मान्न तयार छौं, सरकारले व्यवहारिक रुपमा हेर्नुप¥यो ।”






