चितवनः कुखुरामा चिकेन एनेमिया भाइरस देखिएको छ । यहाँको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाले बिगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको हो ।
कार्यालयका प्रमुख डा. बिजय कुमार श्रेष्ठका अनुसार चितवन सहितका जिल्लाका कुखुरामा यो रोगको समस्या देखिएको हो । कार्यालयले एलाईजा (भ्ष्किब) प्रबिधिबाट गरिएको परिक्षणका क्रममा यो रोगको संक्रमण भएको पुष्टि भएको हो । श्रेष्ठका अनुसार ९२ वटा नमुना परिक्षणका क्रममा ३३ प्रतिशत अर्थात ३१ वटा नमुनामा यो रोगको पुष्टि भएको हो । यस रोगका कारण कुखुरामा रोग संग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्दछ । जसले गर्दा अन्य रोगहरुले कुखुरामा आक्रमण गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “प्रत्यक्ष रुपमा केही असर नदेखिए पनि उत्पादन घट्दा आर्थिक प्रभाव पर्ने गर्दछ ।”
यस रोग लागेका कुखुरामा रक्तअल्पदा हुने, तौल नवढ्ने, उत्पादनमा कमी आउने जस्ता लक्ष्यणहरु देखा पर्दछन् । उहाँले भन्नुभयो “कुखुराले चारा खाने, हिडडुल गर्ने गरे पनि यसको प्रभाव दिर्घकालिन रुपमा पर्ने भएकाले व्यवास्ता गर्नु हुँदैन ।” नेपालमा यो रोग काठमाडौंमा पहिलोपटक दुई वर्ष अघि देखिएको उहाँले जानकारी दिनुभयो । कुखुरालाई यो रोगबाट बचाउनका लागि चिकेन एनेमिया भाइरस बिरुद्धको भ्याक्सिन दिनुपर्ने उहाँले बताउनुभयो । ब्रोइलरको माउमा र लेयर्सको माउ तथा चल्ला दुबैमा यो खोप दिनुपर्ने उहाँले बताउनुभयो ।
चितवन सहित १६ जिल्लाबाट संकलित नमुना यो प्रयोगशालामा परिक्षण हुँदै आएको छ । गत आर्थिक वर्षमा प्रयोगशालाले २ हजार ५ सय किसानको ७ हजार कुखुराको पोष्टमार्टम गरेको छ । जसबाट लो प्याथोेनिक एभिएन इन्फुलुन्जा (एच नाईन) ४८ वटामा, रानिखेत १३ वटामा, गम्बारो १२२ वटामा र आइवि (इन्फुलुन्जा व्रोङ्गकाइटीस) २ वटामा देखिएको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सोही अबधिमा १ हजार १२० वटा कुखुराको कलेजो परिक्षण गरिएको थियो । सो परिक्षणबाट इकोलाई ७८५ वटामा र साल्मोनेला ११२ वटामा देखिएको उहाँले बताउनुभयो । जैविक सुरक्षाको अभावमा यी संक्रमण देखिएका हुन । फार्ममा दाना, पानी, औषधि, भूष लगाएतका सामाग्री लैजाँदा र अण्डा बाहीर पठाउँदा जैबीक सुरक्षालाई कडाईका साथ अवलम्बन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । बजारमा निः संक्रमण गर्ने औषधि पाईने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निः संक्रमण गर्नुपर्ने हुन्छ ।






