चितवनः नारायणगढ–मुग्लिन सडक खण्डका अधिकांश भाग भित्तो खनेर बनाईएको र विस्तार गरिएको हुँदा सधैं पहिरो र ढुंगा खस्ने जोखिम हुने गर्दछ । समय समयमा खस्ने पहिरो र ढुंगा खसेर भएका मानवीय क्षति धेरै छन् ।
पछिल्ला वर्षहरुमा सडक विस्तार, पुल निर्माण र पहिरो रोकथामको काम भएसँगै पहिलेको तुलनामा जोखिम कम हुने भएपनि ढुंगा खस्ने समस्या भने रहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार सबैभन्दा बढी समस्या देखिएको तुईन खोलामा ठूलो ढुंगा झारिएको छ । सँगै साना ढुंगाहरु झारिएको भएपनि अझै सो क्षेत्र जोखिमपूर्ण रहेको उहाँको भनाई छ ।
घिमिरेले भन्नुभयो “यो ठाउँमा रकनेटिङ गर्नका लागि छलफल भईरहेको छ ।” झण्डै १६ मिटर माथिबाट अत्यन्तै जोखिममा रहेको ठूलो ढुंगालाई लङबुम एक्साभेटरको सहयोगमा गरिएको हो । सोही सडकको लामो बालुवा पुल आसपास क्षेत्रमा ढुंगा खस्ने जोखिम छ । सोही क्षेत्रमा ढुंगा खसेर केही समय अघि एक जना चालकको मृत्यु समेत भएको थियो । घिमिरेका अनुसार सडकको सात सय मिटर जति क्षेत्रमा जोखिम बढी छ । सो क्षेत्रको केही भित्तो काटिएको थियो ।
यस्तै जोखिम जलवीरेमा पनि रहेको छ । झण्डै एक सय मिटर क्षेत्रमा साना ढुंगा खस्ने जोखिम रहेको हो । नाम्सी पुल क्षेत्रमा भित्तो काटिएको हुँदा ढुंगा खस्ने जोखिम छ । एक सय मिटर जति क्षेत्र जोखिममा रहेको घिमिरेले जानकारी दिनुभयो । तुईन खोला नजिकैको क्षेत्र पनि जोखिममा रहेको छ । ६० मिटर हाराहारी क्षेत्रमा ढुंगा खस्ने जोखिम छ । सो क्षेत्रमा सडक विस्तार गर्दा हल्का भित्तो काटिएको थियो ।
केही वर्ष अघि यो सडक विस्तार गर्दा ठाउँठाउँमा भित्तो काटिएको थियो । ती क्षेत्रमा रक नेटिङ, वायो इञ्जिनियरिङ्ग लगायतका प्रविधि प्रयोग गरेर पहिरो र ढुंगा खस्ने समस्या रोकथाम गरिएको हो । घिमिरेले भन्नुभयो “पहिले रोकथामको काम गरेका ठाउँमा समस्या छैन, नयाँ ठाउँमा समस्या देखिएको छ ।” ती समस्या समाधानका लागि कार्यालयले विभागमा लेखि पठाएको छ । कार्यालय प्रमुख नारायण लामिछानेले जोखिम बढी देखिएका ठाउँहरुमा रक नेटिङ लगायतका काम गर्नुपर्ने बताउनुभयो । विभागसँग परामर्श गरेर काम अघि बढाईने उहाँको भनाई छ । वर्षातको समयमा सडक जोखिमपूर्ण भएकाले यात्रा गर्दा सावधानी अपनाउनु पर्ने उहाँको सुझाव छ ।
कार्यालयले कुनै पनि बेला ढुंगा र पहिरो खस्न सक्ने भएकाले मुग्लिनमा एउटा लोडर तयारी अवस्थामा राखेको छ । यस्तै सेतीदोभानमा लोडर, जेसिबी एक्साभेटर, ट्रकटेलर, ट्रिपर तयारी अवस्थामा राखेको छ । उहाँका अनुसार नाली बन्द हुन नदिन मिनी एक्साभेटर र आवश्यक जनशक्ति सडकमा नियमित परिचालन गरिएको छ ।






