चितवनः ईट्टा भट्टामा काम हुन छाडे पछि त्यहाँ कार्यरत मजदुरहरु रातको समयमा भाग्न थालेका छन् । सरकारले कोरोना भाईस (कोभिड १९) नियन्त्रणका लागि लकडाउन गरेको तेस्रो हप्ता चलिरहँदा काम बिहीन बस्न परेका मजदुरहरु भाग्न थालेका हुन ।

जिल्लामा १८ ईट्टा भट्टा रहेका छन् । ती भट्टामा सात हजार भन्दा वढि मजदुर काम गर्दछन् । ईट्टा उद्योग संघ चितवनका अध्यक्ष नारायण प्रसाद सापकोटाका अनुसार लकडाउन सुरु भए संगै धेरै मजदुर पठाईएको भए पनि अझै २ हजार ६ सय हाराहारी मजदुर भट्टामा छन् ।

पूर्बी चितवनको खैरहनीमा ९, राप्तीमा ७ र रत्ननगरमा २ वटा ईट्टा भट्टा रहेका छन् । ती मध्ये केही आंशिक चलेको भए पनि अधिकांश बन्द छन् । सापकोटाका अनुसार खैरहनीका भट्टामा २ हजार, राप्तीमा २ सय र रत्ननगरमा २ सय मजदुर भट्टामानै छन् ।

काम नहुने भट्टामा बस्ने मजदुर दिनभर त्यसै बस्नुपरेको छ । सापकोटाका अनुसार ती मजदुरहरुलाई काम नभए पनि उद्योगीले खाने र बस्ने व्यवस्था गरिरहेका छन् । ईट्टा भट्टामा अस्थायी बसोबास हुन्छ । त्यही बस्नुपर्ने हुन्छ । अधिकांश मजदुरले काम भन्दा अघिनै पैसा लगिसकेका हुन्छन् । यस वर्ष पानी र अहिलेको संक्रमणका कारण काम हुन सकेको छैन । साहु संग लिनुको सट्टामा उल्टो तिर्नुपर्ने भएपछि मजदुर भाग्न थालेका हुन् ।

एउटै भट्टामा ४ सय हाराहारी मजदुर हुन्छन् । यहाँ रहेका मध्य सर्लाही र रौतहटका मजदुर भाग्ने गरेका हुन् । भट्टामा रहेका रोल्पा र दाङका मजदुर भागेका छैनन् । रातीको समयमा साहु वरिपरि नभएको मौका पारेर उनीहरु भाग्ने गरेका हुन् । घरमा गए परिवार संग बस्न पाउने र घरको काम हुने भएपछि मजदुर भागेका हुन् । दैनिक रातीको समयमा मजदुर भागिरहेको सापकोटाले जानकारी दिनुभयो ।

भट्टा नचले पछि खान र बस्न पाए पनि ठेक्कामा काम गराईने हुदाँ पैसा पाउँदैनन् । बुधबार साँझ राप्ती नगरपालिका वडा नम्बर ९ को मनकामना ईट्टा उद्योगबाट भाग्दै गरेका ३० जना मजदुर प्र्रहरीले फर्काएको छ । ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषि मगरका अनुसार उनीहरुलाई सिमलतालबाट फर्काएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायण प्र्रसाद भट्टराईले मजदुरलाई खाने र बस्ने प्रबन्ध उद्योगले गर्नुपर्ने बताउनुभयो । भाग्नबाट रोक्न प्रहरीले सहयोग गर्ने उहाँले बताउनुभयो । काम बिहिन ठूलो संख्याका मजदुर बस्दा स्थानीयलाई पनि समस्या भएको जनाएका छन् । उद्योगीहरुले काम बिहिन मजदुर आँफैले पाल्दा समेत भाग्ने गरेको र आरोप खेप्नु परेको भन्दै गुनासो गनुभयो ।

प्रतिक्रिया दिनुहोस !