चितवन, ६ साउन ः विपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा मङ्गलबार भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अस्पताल परिसरमा रहेको शालिकमा माल्यार्पण तथा पुष्पार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ । कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा, कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरूको उपस्थिति रहेको थियो । अस्पतालका कर्मचारी तथा सर्वसाधारणले पनि विपीलाई सम्झँदै शालिकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै महामन्त्री थापाले विपी कोइरालाको नाममा स्थापना गरिएको अस्पतालले निरन्तर रूपमा गुणस्तरीय सेवा दिँदै आएको उल्लेख गर्नुभयो । क्यान्सरका बिरामीहरू दिनानुदिन बढ्दो अवस्थामा रहेको र अझै पनि धेरै बिरामीहरू उपचारका लागि भारतलगायत अन्य मुलुक जान बाध्य भएको भन्दै उहाँले यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।

“रहरले विदेश उपचारका लागि जानु फरक कुरा हो, तर बाध्यताले जानुपर्ने अवस्था अब अन्त्य हुनुपर्छ,” उहाँले भन्नुभयो। नेपालमै प्रभावकारी उपचार सेवा उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महामन्त्री थापाले देशको केन्द्रीय भूभागमा अवस्थित यो अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गर्दै अन्य क्यान्सर अस्पतालहरूसँग समन्वय गरेर दक्ष जनशक्ति उत्पादनमा समेत जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै, क्यान्सर उपचारका क्षेत्रमा अनुसन्धानको प्रवद्र्धन र जनशक्ति अभाव हटाउनुपर्ने कुरामा पनि उहाँले ध्यानाकर्षण गर्नुभयो ।

त्यस अवसरमा काँग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले यस अस्पतालले विपी कोइरालाको गौरवशाली इतिहास बोकेको हुँदा त्यस अनुरूप सेवा विस्तार गर्नुपर्ने बताउनुभयो । अस्पतालको भौतिक संरचना बलियो रहेको भन्दै उहाँले यसै आधारमा आम्दानी वृद्धि र सेवा विस्तार गरी अस्पताललाई एक स्थायी प्रतिष्ठानको रूपमा अगाडि बढाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

क्यान्सर उपचारको स्रोत सीमित रहेको सन्दर्भमा उहाँले नेपालमै आवश्यक पूर्वाधार तयार गरी विदेश जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने बताउनुभयो । चितवनलाई क्यान्सर उपचारको एक प्रमुख केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेकोमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालले प्रविधिमैत्री सेवा प्रणाली विकास गर्दै आएको जानकारी दिनुभयो । उहाँले क्यान्सर उपचारमा अत्यावश्यक साइक्लोट्रोन मेसिनसहित पेट स्क्यान सेवा सञ्चालनको तयारी भइरहेको र प्रयोगशालागत पूर्वाधार पनि मजबुत पारिँदै गएको बताउनुभयो । उहाँले सेवा विस्तारसँगै बिरामीले अब उपचारका लागि विदेश जान नपर्ने वातावरण तयार हुँदै गएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !