चितवन: नागढुङ्गा–मुग्लिन सडक आयोजना अन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकको काम ३३ प्रतिशत सम्पन्न भएको छ । यस सडकको ३८ किलोमिटर भाग मध्ये ८ किलोमिटर चारलेन सडकको कालोपत्रेको काम सम्पन्न भएको छ ।
पश्चिम खण्डका प्रमुख केदार प्रसाद नेपालका अनुसार कुरीनटार क्षेत्रमा एकै ठाउँमा पाँच किलोमिटर कालोपत्रे गरिएको छ भने बाँकी बिभिन्न ठाउँमा कालोपत्रे गरिएको हो । थप आठ किलोमिटर क्षेत्र कालोपत्रे गर्ने तयारी गरिएको छ । सो सडकको २५ किलोमिटर भागमा पक्कि नाली वनाईएको छ । सडकको चौडा गर्ने काम नालि वनाएको क्षेत्रमा भईसकेको छ । थप आठ किलोमिटर क्षेत्रमा सडक चौडा गर्नेकाम बाँकी रहेको छ ।
सो सडक खण्डमा रहेका ६ वटा पुल मध्ये गोमती खोलाको पुलको काम सम्पन्न भएको छ । बाँकी ३ वटा पुलमा साउन महिना भित्रमा ढलान गर्ने योजना रहेको नेपालले बताउनुभयो । थप दुई पुल वर्षा सकिए पछि काम अघि वढाईने छ । ती पुलमा पिल्लर उठाउने काम भएको छ । आयोजनाले मुआव्जा दिनुपर्ने मध्ये ७० प्रतिशत बितरण गरिसकेको छ । बिद्युतका पुल चार सयबाट सार्नु पर्नेमा तीन सय तीन वटा सारिएको छ । बर्षातको समयमा पुलको ढलानको काम र निर्माण सामाग्री प्रसोधनको काम मात्र हुने गर्दछ । नेपालले भदौ पछि अरु काम थालिने बताउनुभयो ।
यो खण्डमा २.२ किलो मिटर ६ लेन सडक बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । चार लेन सडक ७.२ किलोमिटर हुने छ । यो रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौंदी र विशालटार क्षेत्रमा हुने छ । उकालो–ओरालो खण्डमा ३ लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन २.३ किलोमिटर हुने छ । बाँकी सडक डेडिकेटेड दुई लेनको हुने छ ।
बि. सं. २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्ने गरी यो सडक ठेक्का लगाईएको हो । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–नागढुङ्गा सडक खण्डलाई तीन प्याकेज बनाएर बोलपत्र आव्हान गरिएको हो । यो तेस्रो प्याकेजमा पर्दछ । यो प्याकेजमा ३८ दशमलब ८६ किलोमिटर पर्दछ ।
शर्मा–जेडआईसीजीले रु ४ अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकको बिभिन्न क्षेत्रहरुमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षा लगाएतका काम गर्नुपर्ने हुन्छ । यो सडक बिश्व बैंकको सहयोगमा बनाईएको हो । काठमाडौं प्रबेश गर्ने र बाहीरिने मुख्य नाकाको रुपमा यस सडक रहेको छ । सडकमा सवारीको उच्च चाप र कच्चा पदार्थ पाउन कठिन हुँदा काममा ढिलाई भएको हो । यस संगै सुरुका वर्षमा डिजाइन परिवर्तन हुँदा पनि काममा ढिलाई भएको नेपालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !