काठमाडौं, असार २७ –
पूर्वप्रधानमन्त्री तथा माओवादी आन्दोलनका तत्कालीन प्रमुख नेतामध्ये एक डा. बाबुराम भट्टराईले नेपाली माओवादी आन्दोलनलाई सापेक्ष रूपमा सफल आन्दोलनको रूपमा व्याख्या गर्दै आन्दोलनको आगामी चरणमा वैचारिक, राजनीतिक र सांस्कृतिक पुनर्संरचनाको आवश्यकता रहेको बताएका छन्।
हालै सार्वजनिक गरिएको एक लेखमा डा. भट्टराईले माओवादी आन्दोलनले निर्वाचित संविधानसभाबाट गणतन्त्रात्मक संविधान निर्माण, संघीयता, धर्मनिरपेक्षता, महिला तथा दलित अधिकार जस्ता विषयमा ऐतिहासिक सफलता हासिल गरेको दाबी गरेका छन्। तर उनले पार्टी नेतृत्वको रणनीतिक अस्पष्टता र दोधार भूमिकाका कारण अझ गहिरो उपलब्धि हासिल गर्ने अवसर गुमिएको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, “क्रान्तिकारी आन्दोलनमा थुप्रै माग हुन्छन्। तीमध्ये संविधानसभा र गणतन्त्रात्मक संविधान निर्माण प्रमुख थिए, जुन पूरा भएको हो। तर पार्टीभित्र बेलैमा स्पष्ट निर्णय गर्न नसक्नु र प्रमुख नेताहरूको दोधार अडानले आन्दोलनलाई गम्भीर क्षति पुगेको हो।”
डा. भट्टराईले २०६४ सालको बालाजु बैठक, २०६७ को पालुङटार बैठक र २०६९ जेठ २ को सहमतिलाई ऐतिहासिक मोडको रूपमा उल्लेख गरेका छन्। उनले ति मोडहरूमा सही निर्णय लिइएको भए संविधान पहिलो संविधानसभाबाटै जारी हुने र माओवादी आन्दोलनको उपलब्धि युगौं सम्म अमिट हुने बताएका छन्।
क्रान्तिको स्खलन होइन, नयाँ चरणको प्रवेश
उनको विश्लेषण अनुसार माओवादी आन्दोलन पूर्ण रूपमा स्खलित नभई नयाँ चरणमा प्रवेश गरेको हो। “हामीले पूँजीवादी जनवादी क्रान्तिको चरण पार गरेका छौं, अब समाजवादी रूपान्तरणको चरणमा छौं,” भट्टराईको भनाइ छ।
उनले माओवादी आन्दोलन स्खलनको जड जनयुद्धकालमै रहेको संगठनात्मक दोष र सत्ता-केन्द्रित राजनीति भएको भन्दै अहिले त्यसको विषवृक्ष झाङ्गिएको उल्लेख गरेका छन्।
नयाँ संश्लेषणको खाँचो
उनले अबको आवश्यकता माओवादी आन्दोलनको पुनर्गठन नभई नयाँ युग, ज्ञान र परिस्थितिअनुसार वैकल्पिक राजनीतिको संश्लेषण आवश्यक भएको बताएका छन्। “अबको चरण सिर्जनशील सोच, वैज्ञानिक मूल्यांकन र नयाँ धारको राजनीतिक अभियान निर्माणको हो,” भट्टराईले स्पष्ट पारेका छन्।
उनले पहिल्यै बनेका नेताहरूको ‘एकता’ले समाधान नआउने भन्दै, विचारले आन्दोलन, आन्दोलनले नेता र नेताले विकसित विचारको चक्र पुनः निर्माण गर्नु आवश्यक रहेको बताएका छन्।






