चितवन , १९ असार । गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको मूल्य लागत नजिक पुगेको छ । लामो समयदेखि घाटा व्यहोर्दै आएका किसानले केही राहत महसुस गर्न थालेका छन् ।
अण्डा उत्पादनमा संलग्न कृषि फर्महरूले हालै जारी गरेको मूल्यका आधारमा नेपाल लेयर्स कुखुरा पालक संघले समर्थन मूल्य निर्धारण गरेको हो । संघले मूल्य समायोजन गरी शुक्रबारबाट लागू हुनेगरी ठूलो अण्डाको मूल्य प्रति क्रेट (३० वटा) रु. ४९५ र मझौला अण्डाको रु. ४६५ कायम गरेको छ ।
नेपालमा हाल अण्डाको औसत लागत मूल्य प्रतिगोटा रु. १६.५६ रहेको छ भने नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा रु. १६.५० पाउने भएका छन् । यो मूल्य अझै लागतभन्दा थोरै कम भए पनि अघिल्लो तुलनामा केही राहत पुगेको किसानहरूको भनाइ छ ।
दाउन्ने, हिमचुली, खिलुङकाली (जनकपुर एग्रो), सुविश, भिज्जु र शिवम् लेयर्सजस्ता फर्महरूले ठूलो अण्डाको मूल्य प्रतिपेटी रु. ३ हजार ६४५ देखि ३ हजार ६६० र मझौला अण्डाको रु. ३ हजार ४४५ देखि ३ हजार ४६० कायम गरेका छन् ।
नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अण्डा उत्पादनमा संलग्न कुखुराको संख्या घट्नु, पर्यटकको आगमन वृद्धि, र स्कुल–कलेज सञ्चालनले माग बढेपछि मूल्य बढेको हो । साथै, बुढा कुखुरा बिक्री भई किसान विस्थापित हुँदा नयाँ चल्ला हाल्न नसकिएकाले पनि उत्पादनमा असर परेको उहाँले बताउनुभयो ।
“अहिलेको परिस्थिति हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने संकेत देखिन्छ,” पोखरेलले भन्नुभयो, “मूल्य बढ्दा किसान उत्साहित छन् । हाल दैनिक २८–३० लाख गोटा अण्डा उत्पादन भइरहेको छ ।”
पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले पनि माग र आपूर्तिको असन्तुलनका कारण मूल्य बढेको बताउनुभयो । “अब केही दिनमै किसानले लागत मूल्य पाउने सम्भावना छ,” उहाँले भन्नुभयो ।
कुखुरापालक तथा उद्योग संघ चितवनका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेलका अनुसार अघिल्लो वर्षको यही समय पनि अण्डाको मूल्य वृद्धि भएको थियो । “अहिले पनि यदि किसानले लागत मूल्य नपाए बाँकी रहेका किसान पनि विस्थापित हुनेछन्,” उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
विशेषगरी अत्यधिक गर्मीका कारण अण्डा उत्पादन झण्डै २५ प्रतिशत घट्ने गरेको कृषकहरूको अनुमान छ ।
–––






