चितवनः डिभिजन वन कार्यालयले हरेक वर्ष असार १५ गते देखि बिभिन्न प्रजातिका बिरुवा बृक्षारोपणका लागि बितरण गर्दै आएको छ । बिरुवा बितरण गरे पनि कति बिरुवा बाँच्छन भने बास्तबिक तथ्याङ्क भने कार्यालय संग छैन ।

कार्यालयका सूचना अधिकारी देवि प्रसाद पौडेलका अनुसार बिरुवा कति बाँचे भन्ने अनुगमन नभएका कारण बास्तविक तथ्याङ्क भन्न सकिदैन । उहाँले भन्नुभयो “हामीले हरेक वर्ष बिरुवा बाँड्छौ । त्यसको ५० प्रतिशत बाँच्छन् भन्ने अनुमान छ ।” यस वर्ष देखि बिरुवा लाने व्यक्ति र संस्थाको निरिक्षण अनुगमन गर्ने गरी काम गर्न थालिएको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालय, राष्ट्रपति चुरे संरक्षण कार्यालय, स्थानिय तहले बिरुवा उत्पादन गरेर सर्बसाधारणलाई बितरण गर्दै आएका छन् ।

कार्यालयले हरेक वर्ष लाखौंको संख्यामा बिरुवा बितरण गरे पनि सदुपयोग भए नभएको थाहा नहुँदा समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “बिरुवाको सदुपयोग भयो की भएन भन्ने बिषयमा अनुगमन गर्छाै । बिरुवा लगेर नरोप्ने र रोपेर पनि बेवास्ता गर्नेलाई आगामी बर्षहरुमा बिरुवा दिदैनौ ।” अहिले कार्यालयमा बिरुवा लिन आउनेको संख्या वढेको बताउँदै उहाँले व्याक्तिगत रुपमा ५० देखि २०० सम्म बिभिन्न प्रजातिका बिरुवा प्रदान गरिदैं आएको छ । समुह र टोलबिकास संस्थाहरु बिरुवा रोप्ने सुनिश्चितताका आधारमा ३ सय देखि एक हजार बिरुवा सम्म प्रदान गरिने गरेको उहाँले बताउनुभयो । कार्यालयले अम्बा, अमला, अर्जुना, ईपिल, कपुर, कागती, कोइरालो, कल्की फूल, चाँपा, चिउरी, जामुन सहितका ३० प्रजाति भन्दा बढीका बिरुवा बितरण गर्दै आएको छ ।

बितरण गरिएको बिरुवाको अनुगमन नहुँदा बिरुवा बाँच्ने प्रतिशत छुट्याउन कठिन भएको उहाँले बताउनुभयो । कुन बिरुवा कति वाँच्यो भन्ने बिषयमा अध्ययन गरेर थप बिरुवा उत्पादनमा सहयोग पुग्ने उहाँको भनाई छ । कार्यालयको बार्षिक रु २० लाख हाराहारी बिरुवा उत्पादनमा खर्च गर्ने गरेको छ । ठूलो रकम खर्चेर बिरुवा उत्पादन गरे पनि बाँच्ने सम्भाबना कम हुँदा अनुगमन र अध्ययनको आबश्यकता परेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !