चितवनः चितवन भूमिगत संयोजनात्मक जल सिंचाइ आयोजनाले एक वर्षमा ४८ वटा ट्युवेल निर्माण गरेको छ । जसले एक हजारभन्दा बढी विगाहा जमिनमा थप सिंचाइ हुने भएको हो ।
कार्यालयका प्रमुख विश्वबन्धु केसीका अनुसार चालु आर्थिक वर्षमा चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) गरी यो ट्युवेल निर्माण गरिएको हो । नवलपरासीमा १७ वटा ट्युवेल निर्माण गरिएको छ । गैंडाकोटमा पाँच वटा, देवचुलीमा एउटा, कावासोतीमा चार वटा, मध्यविन्दु नगरपालिमा तीन वटा र बिनयी त्रिवेणी गाउँपालिकामा चार वटा ट्युवेल निर्माण गरिएको छ ।
यस्तै चितवनमा भरतपुर महानगरपालिकामा १५ वटा, माडी नगरपालिकामा पाँच वटा, रत्ननगर नगरपालिकामा दुई वटा, कालिका नगरपालिकामा एउटा र राप्ती नगरपालिकामा पाँच वटा गरी २८ वटा ट्युवेल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
मकवानपुरको हेटौंडा नगरपालिकामा एउटा र वागमती गाउँपालिकामा एउटा ट्युवेल निर्माण गरिएको छ । वकैया गाउँपालिकामा एउटा लिफ्ट गरी मकवानपुरमा तीन वटा लिफ्ट एवं ट्युवेल निर्माण गरिएको केसीले जानकारी दिनुभयो ।
बि.सं. २०७६ सालमा भरतपुरमा स्थापना भएको यस कार्यालयले बि.सं. २०७७ सालबाट चितवनमा ट्युवेल निर्माण थालिएको हो । केसीका अनुसार हालसम्म चितवनमा एक सय हाराहारी ट्युवेल निर्माण गरिसकिएका छन् । आ.व.२०७९÷०८० बाट मकवानपुरमा र २०८०÷०८१ बाट नवलपरासीमा समेत ट्युवेल निर्माण थालिएको हो ।
उहाँका अनुसार एउटा ट्युवेल निर्माण गर्न ठाउँ अनुसार रु.६५ लाख हाराहारी खर्च हुने गर्दछ । चालु आर्थिक वर्षमा ट्युवेल, लिफ्ट निर्माण र मर्मतका लागि रु.३७ करोड बजेट विनियोजन भएको थियो । जसबाट ट्युवेल खन्ने, मोटर जडान गर्ने, विद्युतीकरण, पम्प घर निर्माण, वितरण प्रणाली निर्माण (भूमिगत पाईप लाइन विस्तार) गरिएको हो । यस आर्थिक वर्षमा रु.१ करोड मर्मतका लागि बजेट निकासा भई खर्च गरिएको उहाँले जानकारी दिनुभयो ।
ठाउँ अनुसार एउटा ट्यु्वेलले ६० विगाहासम्म सिंचाइ हुने गरेको छ । कतिपय ठाउँमा थोरै क्षेत्रफल मात्रै सिंचाइ हुने गरेको छ । यस वर्ष जडान गरिएका ट्युवेलबाट एक हजार विगाहा हाराहारी थप सिंचाइ पुगेको केसीले बताउनुभयो ।






