चितवनः यहाँको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीलाई लक्षित गरी हटलाईन मोबाईल नम्बर सेवा शुरु गरेको छ । चरणबद्ध उपचारको क्रममा घर गएको समयमा बिरामीलाई हुन सक्ने समस्या समाधान गर्न हटलाईन सेवा शुरु गरिएको हो ।
अस्पतालका मेडिकल अंकोलोजी विभागका प्रमुख मेडिकल अंकोलोजिष्ट डा. गुरु शरण साहका अनुसार क्यान्सर रोगको उपचार गराई रहेका बिरामी, पहिलो पटक पहिचान भएका र क्यान्सर निको भएर पुनः देखिएका बिरामी यस अस्पतालको पहुँच बाहिर रहेका बेला सहजीकरण गर्न यो सेवा शुभारम्भ गरिएको हो ।
२४ सैं घण्टा खुल्ला रहने ९८५५०८१५०१ नम्बर फोनमा बिरामी वा आफन्तले सम्पर्क गरेर सेवा लिन सक्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यो नम्बरमा अस्पतालसम्बन्धी गुनासो वा अन्य सेवाबारेमा भने जानकारी दिईने छैन ।”
डा. साहले भन्नुभयो “क्यान्सर उपचार चरणबद्ध रुपमा हुन्छ, केमो लगाएर वा सेकाई गरेर घर गएको बिरामीलाई जटिलता आयो भने यो नम्बरमा सम्पर्क गरेर सेवा लिन सकिन्छ ।” त्यसैगरी दूरदराजमा रहेका बिरामीलाई पहिलो पटक क्यान्सर पहिचान भएपछि नन क्यान्सर अस्पतालका चिकित्सकले प्रथम चरणमा कसरी उपचार शुरु गर्ने भन्ने ज्ञान नहुने हुँदा त्यसलाई सहजीकरण गर्न पनि यो सेवा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । डा. साहले भन्नुभयो “हामीले आवश्यक परेमा नन क्यान्सर अस्पतालका चिकित्सक स्वास्थ्यकर्मीलाई मोबाईल मार्फत् नै तत्कालको उपचार र रिफर कसरी गर्ने भन्ने बारेमा सहजीकरण गर्ने छौं ।”
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले दुरदराजमा रहेका बिरामीलाई लक्षित गरी हटलाईन सेवा शुभारम्भ गरिएको बताउनुभयो । एक्युट अंकोलोजी सर्भिसको तालिम प्राप्त चिकित्सक नर्सले चौबीसै घण्टा मोबाईलबाट सेवा दिने उहाँले बताउनुभयो । दुरदराजमा रहेका बिरामीका रिपोर्टहरु मगाएर वा लक्षणहरुका आधारमा तत्काल गर्नुपर्ने र दीर्घकालिन रुपमा गर्नुपर्ने उपचार र प्रक्रियाका बारेमा यसबाट सुझाव दिईने उहाँको भनाई छ ।






