चितवनः जिल्लामा उत्पादित चैते धानले समर्थन मूल्य पाउन सकेको छैन । यहाँका किसानहरुले उत्पादन गरेको चैते धानले समर्थन मूल्य नपाएपछि किसान चिन्तित भएका हुन् ।
सरकारले चैते धानको समर्थन मूल्य रु २ हजार ८ सय ७९ तोकेको भए पनि यहाँका किसानहरुले रु एक हजारदेखि एक हजार आठ सयसम्ममा धान बेच्न बाध्य भएका छन् । किसानहरुले धान थन्काउने समयमा समर्थन मूल्य नपाए पछि किसानहरु निरास भएका छन् ।
खैरहनी नगरपालिकाका वडा नम्बर १० का कृष्ण अर्याल अहिले चैते धानको समर्थन मूल्य नपाएको भन्दै गुनासो गर्नुभयो । दुई बिगाहा क्षेत्रफलमा चैते धान लगाउनु भएको उहाँ अहिले धानले समर्थन मूल्य नपाए पछि आगामी बर्षदेखि धान खेती नलगाउने सोचमा पुगेको बताउनुभयो । ‘हरियो बढी भयो, तातो बढी भयो’ भनेर व्यवसायीले समर्थन मूल्य नदिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यहाँको धान महंगो भयो भन्नछन् र भारतबाट धान ल्याउने धम्कि दिदैं आएका छन् ।”
समर्थन मूल्य नपाएपछि किसानहरुले पालिका र उद्योग बाणिज्य संघका पदाधिकारीहरु सँग छलफल गरी धानको समर्थन मूल्य पाउने वातावरण तयार गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो । राप्ती नगरपालिका वडा नम्बर ५ का धर्मराज कँडेल अहिले धानको मूल्य नपाएपछि निरास छन् । व्यवसायीहरुले खरिद नगरेपछि आफूहरु चिन्तित बनेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “यही अवस्था रहे आगामी वर्षबाट चैते धान लगाउने किसानको संख्यामा कमी आउने छ ।” जनजागृत हरियाली ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थाका अध्यक्ष समेत रहनु भएका कँडेलले भन्नुभयो “किसानहरु धान भित्र्याउने चटारोमा छन्, तर धानले उचित मूल्य पाएको छैन ।”
पूर्वी चितवनको रत्ननगर, खैरहनी, माडी नगरपालिका सहित भरतपुर महानगरको केही भूभागमा चैतेधान खेती गरिन्छ । कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जिल्लामा उत्पादन भएको धानले समर्थन मूल्य नपाएको बताउनुभयो । बजारको व्यवस्था भए पनि व्यवसायहीहरुका कारण किसानले मूल्य नपाएको उहाँको भनाई छ । उहाँका अनुसार स्थानीय स्तरमा रहेका व्यवसायी र सरोकारवालाहरु बीचमा अहिले छलफल भईरहेको छ । जिल्लामा करिब १० हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको छ । गत वर्ष ९ हजार ५ सय हेक्टर क्षेत्रफलमा चैते धान लगाईएकोमा ५९ हजार ५१९ मेट्रिकटन धान उत्पादन भएको थियो ।






