चितवनः जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा बातावरणका सम्बन्धमा स्थानीय सरकारहरु एक भएर लाग्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको स्थानीय स्तरमा जलवायु परिवर्तन बिपद व्यवस्थापन तथा बातावरण सम्बन्धी कार्यशाला गोष्ठिमा सहभागीहरुले बिपद र जलायु परिवर्तनका बिषयमा स्थानीय सरकारले सहकार्य गरेर काम गर्न सके प्रभावकारी हुने बताएका हुन ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनमा हरेक किसिमका बिपदहरु आईपर्ने भन्दै यसलाई सामना गर्नका लागि सबै स्थानीय तहहरुले सहकार्य सहित काम गर्न आबश्यक रहेको बताउनुभयो । जलबायु परिवर्तनले मानब जीवनमा जोखिम निम्त्याउन थालेको बताउदैं उहाँले यसको प्रभाव घटाउन स्थानीय सरकारहरुले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “जोखिम व्यवस्थापनको काम भईरहेको छ । यसलाई अझै प्रभावकारी रुपमा गर्नु आबश्यक छ।” जलबायु परिवर्तन दिन प्रतिदिन वढ्दै गईरहेको उहाँको भनाई छ ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले स्थानीय तहहरुले जलवायु र बातावरणका क्षेत्रमा एक भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “मानब जीवनसंग प्रत्यक्ष सरोकार राख्ने भएकाले बातावरण संरक्षणमा हामी एक जुट भएर लाग्नुपर्छ ।” संघिय सरकारले यी बिषयलाई उच्च प्राथमिकता दिएर काम गरिरहेकाले स्थानीय तहबाट प्रभावकारी रुपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले जिल्लाका सातै पालिका एकै ठाउँमा बसेर साझा रणनीति बनाउन आव्हान गर्नुभयो ।
उपप्रमुख कल्पना काफ्ले सापकोटाले वढ्दो जलवायु परिवर्तनको असर मानब स्वास्थ्यमा प्रत्यक्ष रुपमा परेको बताउँदै यसलाई रोक्न सकेमा मात्र विपद व्यवस्थापन गर्न सहज हुने बताउनुभयो । कार्यक्रममा बिपदको अबस्था, स्थानीय तहको रणनिति तथा दिगो समाधानका उपायहरुको खोजी बिषयमा कार्यपत्र प्रस्तुत गर्दै बिज्ञ दिलु घिमिरेले अबको समयमा हुने बिपद र जलवायु परिवर्तनलाई सहन सक्ने गरी काम गरिनु पर्ने आबश्यकता रहेको बताउनुभयो । यसको क्षती न्यूनिकरणका लागि महत्वपूर्ण कामहरु स्थानीय तहले गर्न आबश्यक रहेको उहाँको भनाई थियो ।
जलवायु परिबर्तन तथा बातावरणको हालको अवस्था, संरक्षणका लागि सरोकारवालाको भूमिका बिषयमा विज्ञ पुरुषोत्तम अर्यालले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय सरकारले जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय नीति र योजनाहरुको प्रभावकारी रुपमा कार्यन्वयन हुन नसक्दा समस्या देखिएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका मुृद्धाहरुलाई बिकासका योजनाहरुमा एकिकृत गर्ने गरी काम गर्न स्थानीय सरकारलाई सुझाब दिनुभयो ।
सो अबसरमा इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, भरतपुर महानगरपालिकाका बातावरण तथा बिपद शाखाका बिसुराम कुँवर, रत्ननगर नगरपालिकाका विपद तथा बातावरण शाखाका बिश्वास श्रेष्ठ, खैरहनी नगरपालिकाको बिपद तथा बातावरण शाखाका आशिष पौडेल, माडी नगरपालिकाका शिब सुवेदीले पालिकाहरुले जलवायु परिवर्तन र विपदका बिषयमा गरेका कामहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।
जिल्ला समन्वय अधिकारी हरि प्रसाद शर्माका अनुसार कार्यक्रममा जिल्लाका पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, बातावरण र विपद शाखामा कार्यरत कर्मचारीहरुको सहभागीता रहेको थियो । जिल्लामा एक महानगरपालिका, पाँच वटा नगरपालिका र एउटा गाउँपालिका रहेको छ ।






