चितवनः जिल्लामा उत्पादित दूध लैजाने गरेका ठूला दुग्ध उत्पादक डेरीहरुले दूध नउठाउने धम्की दिन थालेका छन् । यहाँका दुग्ध उत्पादक सहकारी संस्थाहरुले लामो समयदेखि भुक्तानी नपाए पछि भुक्तानीका लागि दवाव दिन थालेपछि डेरीहरुले धम्की दिन थालेका हुन् ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर वगालेले धम्की आउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो “अहिले भुक्तानी माग गरेका सहकारीहरुबाट दूध उठ्न कठिन भएको छ ।” यहाँ उत्पादीत दूध नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसि) र निजी कम्पनीहरुले लैजाने गरेका छन् ।
उहाँका अनुसार जिल्लामा रहेका दुग्ध उत्पादक सहकारीहरुले बिभिन्न डेरीहरुबाट रु ८० करोड बढिको भुक्तानी पाउन बाँकी रहेको छ । सो रकम मध्ये डिडिसिको रु ३५ करोड बढी रहेको छ भने अन्य रकम निजी डेरीहरुको हो । बगालेका अनुसार जिल्लाबाट ४० भन्दा वढी डेरीले दूध लैजाने गरेका छन् । ती डेरीहरुले भुक्तानी माग्दा दूध लैजान कम गर्ने गरेका हुन । उहाँले भन्नुभयो “किसानले भुक्तानी माग्दा दूध उठाउन कम गर्छन् ।” कतिपय डेरीहरुले नियमित लैजाने दूधबाट कटौती गरेर थोरै लैजान थालेको उहाँले जानकारी दिनुभयो ।
गत पुस १ गतेदेखिको भुक्तानी लिन बाँकी रहेको छ । यस्तै अवस्था आए दुग्ध उत्पादक किसान आन्दोलनमा आउन बाध्य हुने उहाँले बताउनुभयो । जिल्लाबाट दैनिक १ लाख ५१ हजार लिटर दूध बाहिर जाने गरेको संघले जनाएको छ । जस मध्ये ३५ हजार लिटर दूध डिडिसिले लाने गरेको छ । अहिले जिल्लामा दैनिक ३ लाख लिटर वढी दूध उत्पादन हुँदैं आएको छ ।
किसानको भुक्तानी दिन ढिला गरे पछि संघले स्थानीय प्रशासनलाई भूक्तानीका लागि सहजिकरण गन आग्रह गरेका छन् । किसानहरुको समस्या समाधानका स्थानीय प्रशासन समन्वय गर्न तयार रहेको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले बताउनुभयो । भुक्तानी दिन ढिला गर्ने उद्योगहरुलाई सम्पर्क गरेर, वोलाएर छलफल गरिने उहाँले बताउनुभयो । यस बिषयमा गृह मन्त्रालय र कृषि मन्त्रालयसँग आफुले समन्वय गर्ने उहाँका भनाई छ ।





