चितवनः दुग्ध उत्पादक सहकारी संस्था र फर्महरुको दूध प्रशोधन गर्दैै आएको चितवन मिल्क उद्योग प्रसोधनका लागि दुध नपाए पछि बन्द भएको छ । दूध नपाएपछि गएको वैशाख १० गतेबाट उद्योग बन्द भएको हो ।
उद्योगमा सहकारी संस्था र फर्महरुले बिक्रि नभएको दूध ल्याएर प्रशोधन गरी नौनी घ्यू (बटर) र धुलो दूध उत्पादन गर्ने गर्दछन् । भरतपुर महानगरपालिका वडा नं. १ ठिमुरामा उद्योग रहेको छ । उद्योगका प्रबन्धक दुर्गा पराजुलीले विभिन्न संघ संस्थाहरुलाई दूधका लागि आग्रह गरिएको भएपनि पाउन नसकिएको बताउनुभयो । एक पटक सञ्चालन गर्नका लागि कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ । उद्योगले एक सिफ्टमा एक लाख लिटर सम्म दूध प्रशोधन गर्न सक्छ । देशभरका ३० हाराहारी संस्थाले यहाँ प्रसोधनका लागि दूध ल्याउने गर्दछन् ।
पराजुलीले सहकारी र फर्मले दूध नल्याएपछि आफैले दूध किनेर भएपनि मेसिन सञ्चालनका लागि उद्योग चलाउने योजनामा रहेको भए पनि दुध पाउन नसकेको बताउनुभयो । गत आर्थिक वर्षमा फागुन देखि भदौ सम्म उद्योग वन्द भएको थियो । अघिल्ला वर्षहरुमा भने यो मौसममा दूधको अभाव हुने गरेको थिएन । ती वर्षहरुमा असार १५ बाट साउन मसान्तसम्म दूधको अभाव हुने गरेको पराजुलीले बताउनुभयो ।
उद्योगमा ३४ जना कर्मचारी रहेका छन् । उद्योग सञ्चालन नहुँदा समेत मासिक रु.१५ लाख हाराहारी खर्च हुने पराजुली बताउनुहुन्छ । उद्योगमा अहिले १५ किलोका ९ हजार ब्लक नौनी र १२ हजार बोरा धुलो दूध बाँकी छ । वि. सं. २०७५ सालदेखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको एक सय १३ र घ्यू (बटर) को प्रतिकिलो ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । वि.सं. २०६४ सालमा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो ।
उद्योगले दूध प्रसोधन गरे संगै किसानहरु मिल्क होलिडे हुनबाट रोकिए पछि लाभान्वीत भएका छन् । असार र साउन कम दुध उत्पादन हुने महिना हो ।






