सनद अधिकारी
चितवन १९ फागुन ःचितवनको भरतपुरमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र रुपन्देहीको तिलोत्तमा निर्माणधीन एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका प्रतिनिधिहरुको टोलीले आज गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवलोकन गरेका छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहितको टोली र एक्स्ट्राटेक ओभल रंगशालाका प्रबन्ध निर्देशक विनोद कुँवरसहितको टोलिले एक अर्काको अनुभव साटासाट गर्नेगरी रंगशाला अवलोकन गरेका हुन् । सो अवसरका भरतपुर महानगर प्रमुख रेनु दाहालले कुँवरसहितको टोलिलाई स्वागत गर्नुभयो । उहाँले क्रिकेट रंगशालाप्रति खेलाडीहरुको आकर्षण र देशलाई आवश्यकता रहेको अवस्थामा नीजि क्षेत्रबाट रंगशाला निर्माण गर्ने कुँवरप्रति सम्मान व्यक्त गर्नुभयो । प्रमुख दाहालले देशमा जतिपनि नयाँ बनेका र स्तरोन्नती हुँदै गरेका रंगशालाहरुले एक अर्कामा अनुभव आदान प्रदान र सहयोग गर्नुपर्ने बताउनुभयो । कुँवरप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, “अहिले हामीले छलफल गरेर सुधार्न सक्ने विषयहरु सुधार्न सकिन्छ । पछि सुधार्न चाहेरपनि सकिन्न । त्यही हिसाबले अनुभव आदान प्रदान गर्न, केही बुझ्न र आफ्ना पनि अनुभव साट्न यहाँ आउनुभयो उहाँलाई महानगरको तर्फबाट विशेष धन्यवाद दिन चाहान्छु । ” उहाँले विभिन्न कानुनीलगायतका समस्याहरु पार गरी हाल रंगशालाको काम अगाडी बढेको बताउनुभयो । अहिले रंगशाला निर्माणको लागि बजेटको कुनै समस्या नभएको उहाँको भनाई छ ।
सो अवसरमा निर्देशक कुँवरले गौतमबुद्ध क्रिकेट रंगशालाबाट प्रभावित बनेर आँफु आफ्नै लगानीमा रंगशाला निर्माणमा लागेको बताउनुभयो । यस रंगशालालाई आँफुले एक्स्ट्राटेक ओभल रंगशालाको पिता मान्ने उहाँको भनाई थियो । यहाँ पहिलेदेखि हेर्न मन भएको भन्दै उहाँले अवलोकन गर्दैगर्दा कामहरु राम्रोसँग भएको आफुले पाएको बताउनुभयो । उहाँले आँफुले निर्माण गर्दै गरेको रंगशाला नीजि लगानी भएपनि सरकारकै लागि भएको बताउनुभयो । देशमा यस्तै प्रकारका कम्तिमा ५ वटा रंगशाला भएका क्रिकेटले गति लिने उहाँको भनाई थियो । यस प्रकारका अवलोकनबाट केही सिक्ने र यहाँ आफुले जानेका भोगेका कुरा बाँड्नका लागि महत्वपूर्ण उहाँले बताउनुभयो । साथै उहाँले प्रमुख दाहाललाई पनि आफ्नो रंगलाशाला अवलोनका लागि अनुरोध गर्दै छिट्टै निम्ता गर्ने बाचा गर्नुभयो । हाल दुवै रंगशालाले कामको गति लिएको र एकै समयमा उद्घाटन गर्ने आफ्नो इच्छा रहेको उहाँको भनाई थियो । एक्स्ट्राटेक ओभल रंगशालाको हाल ५०प्रतिशत काम सकिएको उहाँले बताउनुभयो ।
महानगरका सिनियर डिभिजन इन्जिनियर सन्तोष आचार्यले रंगशालाको हाल प्रथम चरणको निर्माण सम्पन्न गरेर खेल खेल्न मिल्नेगरी तयारी गरीएको बताउनुभयो । हाल कामले तिब्र रुप लिएको भन्दै उहाँले चैत भित्रमा रंगशालाका दुवै टावर ढलान हुने जानकारी दिनुभयो । हालसम्म रंगशालाको आर्थिक हिसाबले १५ प्रतिशत र तयारीको हिसाबले २० प्रतिशत काम भएको र समयभन्दा अघिनै निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो । रंगशालाको ३० महिनामा सम्पन्न गर्नेगरी सम्झौता भएकोमा अब २२ महिना बाँकी रहेको छ ।
–––





