चितवन) २३  पुस : ‘मिसन रेड’ अभियानले आज भरतपुर अस्पताल परिसरमा ‘मेरो पहिलो रक्तदान’ कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनको सह आयोजना र भरतपुर अस्पतालको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कहिल्यै रक्तदान नगरेका व्यक्तिहरूलाई रक्तदान गर्न प्रेरित गर्नका लागि कार्यक्रम आयोजना गरिएको मिसन रेड अभियानका संयोजक अर्जुन अधिकारीले बताउनुभयो । उहाँले आजको अभियानमा १७ जना नयाँ रक्तदाताले पहिलो रक्तदान गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिलोपटक रक्तदान गर्नेहरुहले अव नियमित रक्तदान गर्ने भन्नुभएको छ । आज लामो समयको अन्तरालमा पनि केहीले रक्तदान गर्नुभयो । युवाहरु निकै उत्सुक हुनुहुन्छ ।”

‘मिसन रेड’ अभियानमा एक वर्ष भित्रमा ५ हजार पिन्ट रगत संकलन गर्ने उद्देश्य रहेको अधिकारीको भनाई छ । अभियानमा विभिन्न संघ संस्थाहरुबाट सहयोग मिलेको र अभियानलाई रक्तदाताहरले पनि उल्लेख्य मात्रामा सहयोग गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा रक्तदान गर्न अलि अफ्टेरो मान्नुहुन्छ तर एक पटक गरेपछि अर्कोपटक गर्नका लागि उत्सुक हुनुहुन्छ । यसको लागि पनि ‘मेरो पहिलो रक्तदान ’ कार्यक्रम राखेका हौं ।”

भरतपुर महानगरपालिका–२५ का प्रभात घिमिरेले आज आँफुले २२ वर्षको उमेरमा पहिलोपट रक्तदान गरेको अनुभव सुनाउनुभयो उहाँले भन्नुभयो, “यो अभियानबारे थाहा थियो, त्यसैले रक्तदान गर्ने आँटका साथ आएर पहिलोपटक रक्तदान गरेँ । सुरुमा अलि डर लागेको थियो तर केही नहुने रहेछ । ” उहाँले अव मिलेसम्म ३/३ महिनामा रक्तदान गर्ने प्रतिवद्घता जनाउनुभयो ।

भरतपुर–१० कि लक्ष्मी रिजालले पनि पहिलोपट रक्तदान गर्दा डर लागेको भएपनि रक्तदान गरिसकेपछि केही निकै आनन्द मिलेको बताउनुभयो । हिम्मत देखाएर रक्तदान गरीसकेपछिको आनन्द कतै किनेर नपाइने उहाँको भनाई थियो ,। महिलाहरुले अनुकुल मिलेको खण्डमा रेगुलर ३/४ महिनामा रक्तदान गर्न मिल्ने आँफुले बुझेको भन्दै उहाँले भन्नुभयो, “अव म प्रत्येक ३÷४ महिनामा रक्तदान गर्छु। ”

अभियानले रगत अभाव व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने तथा डिजिटल प्लेटफर्ममार्फत मानिसलाई रक्तदानमा उत्प्रेरित गर्ने कामहरु गर्दै आएको अधिकारीले जानकारी दिनुभयो । गत वैशाखबाट सुरु भएको यस अभियानले हालसम्म १ हजार ४ सय पिन्ट रगत संकलन गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !