चितवनः भरतपुर महानगरपालिका भित्र रहेका पाँच वटा वडा वाल मैत्री घोषणा भएका छन् । आज भरतपुर महानगरपालिका वडा नम्बर ६ लाई बालमैत्री घोषणा गरे संगै पाँचवटा वडा पुगेको हो ।
भरतपुर महानगरपालिकाका वडा नम्बर १४, २१, २३ र १३ लाई यस अघिनै बालमैत्री घोषणा गरिएको थियो । बि. सं. २०७६ साल असार २५ गते भरतपुर महानगरपालिका वडा नम्बर १४ लाई पहिलो पटक बालमैत्री वडा घोषणा गरिएको थियो । आर्थिक वर्ष २०८३÷०८४ सम्ममा महानगरपालिकालाई बालमैत्री घोषणा गर्ने उद्देश्यका साथ बालमैत्री वडा घोषणा गरिएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर ६ लाई बालमैत्री वडा महानगरपालिका प्रमुख रेनु दाहालले घोषणा गर्नुभयो । घोषणा कार्यक्रममा बोल्दै उहाँले भरतपुर महानगरपालिकामा बालमैत्री शासन लागु गर्न र बालश्रम मुक्त वनाउने योजनाका साथ काम भईरहेको बताउनुभयो । सामुहीक एकता र वलले मात्र कामहरु सफल हुने भन्दै उहाँले घोषणा भईसके पछि यसको कार्यान्वयनमा वडा र टोल बासीको सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो “बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि महानगरपालिकाले सक्दो प्रयास गरेको छ ।” बालमैत्री वडा घोषणा पछि देखिने चुनौति समाधान गर्न अभिभावकहरुको महत्वपूर्ण भूमिका रहने महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले बताउनुभयो । बाल अधिकारी संरक्षणका लागि स्थानीय बाल अधिकार समित सधै तयार रहदैं आएको उहाँको भनाई थियो ।
महानगरपालिकाको स्वास्थ्य तथा सामाजीक महाशाखा निर्देशक शान्ता कुमारी पौडेलले बाल मैत्री वडा घोषणाका लागि बालमैत्री स्थानिय शासन अन्तर्गत ५१ वटा सूचकाङ्क पुरा गर्नुपर्ने जानकारी दिनुभयो । स्थानीय बाल अधिकार समितिले यस वर्ष थप दुईवटा वडालई बालमैत्री घोषणा गर्ने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकी अधिकृत लक्ष्मी प्रसाद पौडेल, चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्मा, वडा नम्बर १४ का वडा अध्यक्ष राजेन्द्र शाखी, वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णलाल श्रेष्ठ, वडा नम्बर ६ का पूर्ब वडा अध्यक्ष हरिविलाश कोइराला, नेपाली काँग्रेसका वडा सभापति प्रकाश अधिकारी लगाएतले बोल्नुभएको थियो ।






