चितवन, ४ असोजः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अबको राजनितिमा नयाँ बिचार बोकेका युवाहरुको प्रवेश हुनुपर्ने बताउनुभएको छ । नेपाल जेसीज क्षेत्र (ख) को आजबाट भरतपुरमा सुरु भएको को सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले राजनिति भित्रको विषयलाई फराकिलो ढंगबाट सबै विषयहरु समेटी आर्थिक क्षेत्रको विकासका निम्ति नेपाललाई समृद्घ बनाउने आधारहरु खोज्दै आर्थिक समुन्नती हाँसिल गर्ने प्रक्रियामा अगाडी बढ्नका लागि नयाँ बिचार भएका युवाहरुको राजनितिमा प्रवेश आवश्यक भएको बताउनुभएको हो ।

उहाँले नेत्तृत्व वर्गले देशमा भएका स्रोत के हो र त्यसलाई कसरी परिचालन गर्ने भन्ने विषयलाई उठान गरी शासन पद्घतीबाट आर्थिक समृद्घि हाँसिल गर्ने स्थिती बनाउनुपर्ने बताउनुभयो । आजको युवा वर्ग आर्थिक विषयमा छलफल गर्ने दिशातिर उन्मुख हुनपर्ने उहाँको भनाई थियो ।

देशमा भएका स्रोतहरुको परिचालन गर्ने बारेमा प्रष्ट दृष्टिकोण निर्माण गरेर अगाडी बढ्नु आजको आवश्यकता रहेको भन्दै उहाँले भन्नुभयो, “राजनितिलाई गतिशिल बनाउनका निम्ति खास विषयहरु के हुन् र ति विषयहरुलाई कार्यन्वयन गर्न कसरी सकिन्छ भन्ने आधारहरुलाई निर्माण गर्न जरुरी छ । ” राजनितिलाई परम्परागत ढंगबाट चल्ने स्थिीतीको अन्त्य गरेर आधुनिक प्रणालीबाट चल्नेगरी स्थिती बनाउनुपर्ने उहाँले बताउनुभयो ।

वर्तमान अवस्थामा सिर्जनशिल र रचनात्मक कामहरु कामहरु गरेर समाजलाई अगाडी बढाउन पर्ने भन्दै मन्त्री पौडेलले थप्नुभयो, “अहिलेको समस्या के हो हामी धेरैलाई जानकारी छ तर समाधान के हो हामी थोरैले मात्रै दिन सक्न स्थिती छ । त्यसैले समाजमा समाधान दिन सक्ने व्यक्तिहरु नेत्तृत्वमा आउन आवश्यक छ । ” समाधान यो हो र यो समस्याको समाधान यसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बिचार ल्याउन पर्ने उहाँले बताउनुभयो ।

उहाँले आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क गर्ने संविधानमा उल्लेख भएका कुरापनि व्यवहारमा लागु हुन नसकेको भन्दै सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनको लागि औषधीको मुल्यमा समायोजन गरी अगाडी बढेको बताउनुभयो । स्वास्थ्य संस्थाहरुलाई प्रभावकारी ढंगबाट सुविधा उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

मन्त्री पौडेलले स्वास्थ्य बीमा प्रणालीलाई व्यवस्थित गरेर ५ लाखसम्म पुर्याइने कुराको बहस भैरहेको भन्दै भन्नुभयो, “ रु ५ लाख बीमा सम्भव छैन पनि भनिँदैछ ।तर त्यो सम्भव हुनेगरी हामीले त्यसको स्रोत पनि जुटाएर सम्भव बनाउन सकिन्छ भन्ने आधार प्रस्ततु गरेका छौं । हामीले ५ लाख हुनपर्छ मात्रै भनेका छैनौ कसरी ५ लाख पर्याउन सकिन्छ भन्ने कुरा पनि राखेका छौं । ” उहाँले यस्ता विषयमा युवाहरुको साथ र सहयोग अपरीहार्य रहेको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्न सकेमा आम नागरीकलाई परिर्वतनको अनुभुति गराउन सकिने र त्यस विषयमा काम गर्ने प्रयास गरिरहको मन्त्री पौडेलको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !