चितवनः जिल्लाका बिभिन्न अस्पतालमा साउन यता उपचारका लागि आएका बिरामी मध्ये ७८ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । ३ सय ६ जनाको परिक्षणका क्रममा उनीहरुमा संक्रमण देखिएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत बिमल पटेलका अनुसार सङ्क्रमित मध्ये ३३ जना चितवनका रहेका छन् । ४५ जना जिल्ला बाहिरका रहेको उहाँले बताउनुभयो ।
गत आर्थिक वर्षमा ७ सय ६२ जनाको परिक्षणका क्रममा २४८ जनामा स्क्रब टाईफस देखिएको थियो । स्क्रफ टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रफ टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिले काहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।
यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने पटेलले बताउनुभयो ।





