चितवनः बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्कट्टेलले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभएको छ । १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० अन्तर्गत आजबाट यहाँ सुरु भएको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट तथा प्रतियोगिताको उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई अपहेलना ग¥यो भन्ने ठाउँ नरहने गरी काम गरेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो “खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले क्षमताले भ्याएसम्म काम गरेको छ । खेलकुद क्षेत्रमा बजेट बढाउँदै लगिएको छ ।” खेल क्षेत्रको विकासका लागि बागमती प्रदेश सरकारले भरतपुरमा निर्माणका क्रममा रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ७० प्रतिशत लगानी गर्ने गरी निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यस्तै पटिहानी र माडीमा कवडहल निर्माण गरेको भन्दै उहाँले अझै खेल क्षेत्रको विकासका लागि आबश्यक कामहरु प्रदेशबाट हुने बताउनुभयो । खेलकुदले देशलाई चिनाउने मात्रै काम नगर्ने भन्दै उहाँले यसले सबैलाई एकीकृत गरेर अघि बढ्नउत्प्रेरित गरेको बताउनुभयो ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीरतापूर्बक लागेको बताउनुभयो । उहाँले भन्नुभयो “खेलाडीहरुको क्षमता अभिबृद्धि गर्न बिभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्ने गरी बजेट बनाईएको छ । यसले खेल क्षेत्रमा सम्बृद्धि ल्याउन मद्दत पुग्ने छ ।” खेलकुदामा प्रदेश सरकारको लगानी अपेक्षाकृत रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरु ठाकुर ढकाल, इश्वर सापाकोटा, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले खेलकुद क्षेत्रको विकासले देशको पहिचान बनाउने बताउनुभयो । भरतपुर भ्रमण वर्ष २०२० को अवसरमा यहाँ गरिएको प्रतियोगिताहरु राष्ट्रकै लागि महत्वपूर्ण हुने उहाँहरुको भनाई थियो ।
प्रतियोगितामा चितवन सहित १३ जिल्लाका १ हजार ४० जना विद्यार्थीले छ विधामा सहभागीता जनाउँदै छन् । चितवनमा पाँचवटा विधा कराँते, तेकवान्दो, कवड्डी, भलिवल र एथलेटक्स प्रतियोगिता हुँदै छ भने उसु काठमाडौंमा सुरु भएको छ ।
आजदेखि दुई दिनसम्म चल्ने प्रदेश स्तरीय छनोट प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशका टोली तयार गरिने खेलकुद विकास समिति चितवनका सचिव रामजी ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !