चितवनः गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमाण अघि बढाउन बागमती प्रदेश सरकारले चासो देखाएको छ । बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा र स्वास्थ्य मन्त्री उत्तम जोशीले रंगशालाको स्थलगत निरिक्षण गर्दै रंगशाला निमार्णका लागी प्रदेश सरकारले बजेट सुनिश्चितता गर्ने आश्वासन दिनु भएको छ ।
अवलोकन पछि अर्थमन्त्री लामाले बजेट विनियोजनको प्रतिवद्धता जनाउनुभएको हो । प्रदेश सरकारले ७० प्रतिशत बजेट हाल्ने उहाँले बताउनुभयो । अलपत्र परेको रंगशालाको निरिक्षण पछि उहाँले निमार्ण प्रकृया पुरा गर्न प्रदेश सरकार बजेटका लागी सकारात्मक रहेको बताउनुभयो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई रंगशालामा बजेट पार्ने विश्वास दिलाउनुभयो । देशकै गौरवको आयोजना प्रदेशमा भएकाले यसलाई पुरा गर्नु सबैको दायित्व प्रदेश सरकारको समेत रहेको बताउँदै मन्त्री लामाले भन्नुभयो “रंगशाला निमार्णमा प्रदेश सरकारको चासो छ । हामी बजेट सुनिश्चितता गरेरै अघि बढ्छौ । ढुक्क हुनुस् ।”
मन्त्री जोशीले रंगशाला निमार्णको लागी अर्थमन्त्रीलाई आग्रह गर्नुभएको थियो । गृह जिल्लामा भएको परियोजनाका लागी आफुले प्रदेश सरकारमा पहल गरेको बताउँदै उहाँले भन्नुभयो “रंगशाला निमार्णमा चासो मात्रै होइन सक्रियता पनि उत्तिकै छ । मुख्यमन्त्री नै यसमा सकारात्मक हुनुहुन्छ । यसपटक बजेटबाटै सम्बोधन हुने निश्चित नै छ ।”
महानगरपालिका प्रमुख दाहालले रंगशालाको भौतिक र आर्थिक अवस्था वारे जानकारी गराउनुभएको थियो । उहाँले बजेटको ब्यवस्था भए अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्णले गति लिने बताउनुभयो । समग्र मुलुकको गौरवको आयोजना बजेटके कारण रोकिएको उहाँको भनाई थियो । यसलाई पुरा गर्न प्रदेश सरकारसंग ठुलो आशा गरेको बताउँदै उहाँले भन्नुभयो “मन्त्री ज्यूबाट सकारात्मक आश्वासन पाएका छौ । आशा छ रंगशालामा प्रदेश सरकारले राम्रो निर्णय गर्नेछ ।” उपप्रमुख चित्रसेन अधिकारीले रंगशाला निमार्णमा पाएको आश्वासनले आशा जगाएको बताउनुभयो ।
मन्त्री लामासंगै नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ, बागमती प्रदेश सभा सदस्य गिता गुरुङ, माया श्रेष्ठ, भरतपुर महानगरपालिका १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा रंगशाला निर्माण स्थल पुग्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !