चितवनः चितवन क्षेत्र नम्बर २ को उप निर्वाचन प्रमुख दलहरुका लागि पेचिलो वनेको छ । केन्द्रिय ध्यान यहाँ खिचिएको छ । केन्द्रिय नेताहरु भोट माग्दैं टोलटोलमा पुगेका छन् ।
नेपाली काङ्ग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय नेताहरुको ध्यान चितवन क्षेत्रमा २ मा हुन लागेको उपनिर्वाचनमा केन्द्रित भएको हो । निर्वाचनको मिति नजिकिदैं जाँदा पार्टीले केन्द्रिय नेताहरुलाई जिल्लाका बिभिन्न वडा तहमा खटाएको हो । नेपाली काङ्ग्रेस र नेकपा एमालेले आफ्नो मत सुरक्षित गर्नका लागि उपनिर्वाचन लक्षित गर्दै केन्द्रय नेताहरुलाई वडा तहमा खटाएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते प्राप्त गरेको मतको सुरक्षाका लागि उपसभापति सहितका शिर्ष नेताहरु केन्द्रित भएका छन् ।
दलहरुका लागि पेचिलो वन्दै गएको यस क्षेत्रमा नेपाली काङ्ग्रेसले ८ जना केन्द्रिय सदस्य सहितका प्रतिनिधिहरुलाई जिल्लामा खटाएको नेपाली काङ्ग्रेस चितवनका सचिब धुर्ब पोख्रेलले बताउनुभयो । उहाँका अनुसार केन्द्रय सदस्य, पूर्ब केन्द्रय सदस्य एबं पूर्व मन्त्री, प्रदेश सांसद, पूर्ब जिल्ला सभापतिहरुलाई प्रतिनिधिका रुपमा खटाएको हो । उहाँका अनुसार उपनिर्वाचन लक्षित गर्दै नेपाली काङ्ेसका महामन्त्री विश्वप्रकाश शर्मा दुई पटक चितवन आएर फर्कनु भएको छ । उहाँ फेरी आउने कार्यक्रम रहेको छ भने आज अर्का महामन्त्री गगन कुमार थापा चितवन आउँदै हुनुहुन्छ । सहमहामन्त्री वद्रि पाण्डे कार्यक्रममा सहभागी भएर फर्कनु भएको छ । सहमहामन्त्री जीवन परियार आउँदै हुनुहुन्छ ।
केन्द्रिय सदस्यहरु मधु आचार्य, डिला संग्रौला, नैनसिंह महर, सरिता प्रसाई, दिलमान पाख्रिन, रामहरी खतिवडा, चिनकाजी श्रेष्ठ र अव्दुल सतार यहाँ खटिनु भएको छ । जिल्ला सभापति राजेश्वर खनालका अनुसार बाहिरी जिल्लाबाट आएकाहरुलाई संगठीत गर्ने काममा समेत केन्द्रिय नेताहरु जुट्नु भएको छ । केन्द्रिय नेतानै टोलटोलमा पुगेर भोट माग्ने काममा खटिनु भएको छ । लोकतान्त्रीक बाम गठवन्धनका अन्य घटक माओवादी केन्द्र र नेकपा समाजबादीका केन्द्र र जिल्लाका नेताहरु पनि चुनाबी अभियानमा जुटेको सभापति खनालले बताउनुभयो ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल बास्कोटा बिगत एक महिना भन्दा बढि समय देखि जिल्लामा खटिनु भएको छ । मिसन ग्रास रुटको जिल्लाको नेतृत्व गरेर आउनु भएका बास्कोटा चुनाबी अभियानमा टोलटोलमा पुग्नु भएको छ । नेकपा एमालेका नेता कृष्णभक्त पोख्रेलका अनुसार पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिब योगेश भट्टराई, पोलिटव्यूरो सदस्य शान्ता चौधरी, स्थायी कमिटि सदस्य शेरवहादुर तामाङ लगाएतका नेताहरु यहाँ खटिनु भएको छ । सचिब गोकर्ण बिष्ट आउँदै हुनुहुन्छ भने बैशाख ६ गते पार्टीका अध्यक्ष केपी शर्मा ओली चितवनमा आउने कार्यक्रममा रहेको उहाँले बताउनुभयो । अन्य नेताहरु पनि चुनाबी अभियानका लागि यहाँ आउने जाने भईरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एबं संसदिय दलका नेता डिपि अर्याल सहितका केन्द्रिय नेताहरु यहाँ चुनाबी अभियानमा जुट्नु भएको छ । सभापति रवि लामिछानेका नीजि सचिब प्रकाश सिग्देलका अनुसार पार्टीका नेता एबं सांसदहरु विराजभक्त श्रेष्ठ, शिव नेपाली, सोबिता गौतम, हरि ढकाल, दिपक बोहोरा, धुर्ब गिरि, वसुमायाँ तामाङ, गणेश पराजुली, हरि भट्ट लगाएतका नेताहरु यहाँ चुनाबी अभियानमा जुट्नुभएको छ । सिग्देलका अनुसार अन्य नेताहरु पनि आउने जाने भईरहेको छ ।
राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देल, उपाध्यक्ष बिक्रम पाण्डे लगाएतका केन्द्रिय नेताहरुको उपस्थितिमा चुनाबी कार्यक्रम भएको छ । सो पार्टीका केन्द्रिय नेताहरु समेत चुनाबी अभियानमा रहेका छन् ।
उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका छन् । उनीहरुले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्बाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरे संगै यस निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको थियो । रिक्त पदमा वैशाख १० गते निर्वाचन हुन लागेको हो । यहाँ लोकतान्त्रीक वाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका राम प्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सहित २२ जना उम्मेदवार रकहनु भएको छ ।





