चितवनः यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण शुरु गर्ने भएको छ । कार्यालयले आईतबारबाट लाईसेन्सको अनलाईन फाराम भर्ने गरी तयारी गरेको हो ।
कार्यालयले दैनिक ५०० जनाको लाईसेन्स परीक्षा लिने गरी बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयबाट अनुमति लिईसकेको छ । कार्यालयका प्रमुख कालिप्रसाद भुजेलका अनुसार आज अनलाईन फाराम भर्नका लागि युजरनेम र पासवर्ड संघीय सरकारको यातायात व्यवस्था विभागबाट अनुमति आएमा आईतबारबाट फाराम खोल्न सकिने बताउनुभयो ।
विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले आजै युजरनेम र पासवर्ड जिल्ला यातायात व्यवस्था कार्यालय चितवनमा पठाईने बताउनुभयो । उहाँले भन्नुभयो “आजै हामी युजरनेम र पासवर्ड कार्यालयमा पठाईदिन्छौं, अरु काम उहाँहरुको हो ।”
कार्यालयका प्रमुख भुजेलले आईतबारबाट फाराम वितरण गर्नका लागि आवश्यक गृहकार्य भईरहेको बताउनुभयो । उहाँका अनुसार दैनिक दुई सय जनालाई मोटरसाईकल, एक सय जनालाई स्कुटर, एक सय जनालाई कार जीप, ४० जनालाई रिक्सा, ईरिक्सा र टेम्पो, २० जनालाई ट्याक्टर, १५ जनालाई मिनी बस ट्रक, १५ जनालाई ट्रक बस लहरी र २५ जनालाई मेसिनरी उपकरणहरुको परीक्षा लिईने छ । क्रमशः यो संख्या बढाउँदै लगिने उहाँले जानकारी दिनुभयो ।
एक साताको फाराम भर्ने समय राखिने छ । हाल यस कार्यालय भरतपुर एयरपोर्टअगाडि रहेको छ । अब भने जिल्ला समन्वय समितिअगाडि रहेको गेष्ट हाउस भवनबाट सेवा दिने तयारी कार्यालयको छ ।
यो कार्यालयबाट सेवा सुरू भएसँगै यातायातसँग सम्बन्धित सबै काम भरतपुरबाटै हुने छ । त्यसका लागि भवन तयारी भएको र कर्मचारी पनि तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । नयाँ लाइसेन्स र नवीकरण, ब्लुबुक दर्ता र नामसारी तथा नवीकरण, रूट परमिट, जाँचपासजस्ता महत्वपूर्ण काम अब भरतपुरबाटै हुनेछन् ।
ट्रायल सेन्टरको जिम्मा महालक्ष्मी मोटर ड्राइभिङले पाएको छ । ट्रायल सेन्टर भरतपुर बसपार्कबाट पूर्व–दक्षिणतर्फ १ किमीभित्र तीनतले चोकमा रहेको छ । गत वर्षबाट नै सेवा दिने तयारी रहे पनि ट्रायल सेन्टर सञ्चालनको विषयमा भएको विवाद नटुङ्गिँदा समय पछि सरेको हो ।
जिल्लावासी सवारी चालक अनुमतिपत्रका लागि हेटौंडा, वीरगञ्ज, कावासोती, काठमाण्डौं लगायतका ठाउँमा जान बाध्य रहेका छन् । भरतपुर महानगरपालिकामा पहिलो पटक प्रमुख भएको दोस्रो वर्षबाट रेनु दाहालले यहाँ यातायात कार्यालय स्थापना गरी सवारी चालक अनुमतिपत्र दिने व्यवस्थाका लागि पहल थाल्नु भएको हो । उहाँले भन्नुभयो “हाम्रो पाँच वर्षको निरन्तर प्रयासपछि अब भरतपुरबाटै सवारी चालक अनुमतिपत्र लिन सकिने भएको छ ।”
भरतपुरको आँपटारीमा रहेको वन क्षेत्रको जग्गा यातायात व्यवस्था कार्यालयलाई उपलब्ध गराउन महानगरपालिकाले निर्णय गरेर बागमती प्रदेश हुँदै संघीय सरकारसम्म फाईल पु¥याईएको छ । आफ्नै जग्गामा कार्यालय स्थापना गर्न समय लाग्ने भएपछि जिल्ला समन्वय समितिको भवनबाट सेवा दिन शुरु गरिएको हो । दाहालले तत्काल यहाँबाट सेवा थालेर आफ्नै कार्यालय भवन निर्माणतर्फ लाग्ने बताउनुभयो । उहाँले थप्नुभयो “महानगरले सवारी चालक अनुमतिपत्र यहीबाट दिने कामलाई उच्च प्राथमिकतामा राखेर निरन्तर लागिपरेकै कारण सफल भएको हो ।”






