चितवनः चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काईएका १५० वटा घडियाल गोही राप्ती नदीमा छाडिएका छन् । पाँच वर्ष उमेर पुगेका गोहीलाई नदीमा छाडिएको हो ।
यसै आर्थिक वर्ष थप २० वटा गोही नदीमा छाडिंदै छ । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार पाँच वर्ष उमेर र १.५ मिटर लम्बाई भएपछि गोहीलाई नदीमा छाड्ने गरिएको छ । यस वर्ष राप्ती नदीमा सौराहाघाटबाट ६० वटा, कसराघाटबाट ७० वटा र खगेन्द्रमल्ली नजिकैबाट २० वटा गोही नदीमा छाडिएको हो । ती गोहीलाई यस आर्थिक वर्षको विभिन्न समयमा छाडिएको हो । उहाँले भन्नुभयो “थप २० वटा गोही छोड्न मिल्ने अवस्थामा छन् । हामी केही दिनमा छोड्छौं ।”
गत आर्थिक वर्षमा १०७ वटा गोही नदीमा छाडिएको थियो । प्रजनन् केन्द्रमा हुर्काएर हालसम्म १ हजार ८४२ गोही नदीमा छाडिसकिएको छ । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । प्रजनन केन्द्रमा हुर्काएर राप्ती, नारायणी, कालीगण्डकी, सप्तकोशी, कर्णाली र बबईमा गोही छाडिंदै आएको छ ।
हालसम्म सबैभन्दा बढी राप्ती नदीमा छाडिएको छ । नेपालमा धेरै गोही पाउने नदीमा राप्ती पर्दछ । चैत वैशाख महिनामा नदी किनारमा गोहीले पारेका अण्डा संकलन गरेर कसरामा रहेको प्रजनन् केन्द्रमा कोरलेर बच्चा हुर्काउने गरिन्छ । हाल प्रजनन् केन्द्रमा ७०० भन्दा बढी विभिन्न उमेरका गोही रहेका छन् ।






