चितवनः जिल्लाको कालिका नगरपालिकाले घरघरमै स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ । नगरपालिकाले ८० वर्षमाथिका जेष्ठ नागरिक र रातो कार्ड पाएका अपाङ्हरुको घरघरमा गएर स्वास्थ्य परीक्षण गर्न थालेको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीका अनुसार कार्यक्रम अन्तर्गत प्रत्येक दुई महिनामा एक पटक स्वास्थ्य परीक्षण गरिने छ । नगरभित्र रहेका ५९८ जना जेष्ठ र ५० जना रातो कार्ड प्राप्त नागरिक गरी ६४८ जनाको स्वास्थ्य परीक्षण गरिने छ ।
मधुमेह (सुगर), उच्च रक्तचाप (प्रेसर), पिसाबमा प्रोटिनको मात्रा लगायतको घरघरमै परीक्षण हुने भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार घरघरमै परीक्षणका क्रममा अन्य समस्या देखिएमा उपचारका लागि समन्वय गरिने छ । आवश्यक औषधिहरु पनि निःशुल्क घरघरमै वितरण गरिने छ ।
नगरपालिकाका प्रमुख विनोद रेग्मीले नीति तथा कार्यक्रममै समेटेर कार्यक्रम ल्याईएको बताउनुभयो । उहाँले कतिपय जेष्ठ नागरिकहरु साधारण सिटामोल समेत खान नपाउने अवस्थामा रहेको भन्दै घरमै पुगेर स्वास्थ्य परीक्षणसँगै थप उपचारका लागि नगर अस्पतालमा समन्वय गरिने बताउनुभयो । उहाँले भन्नुभयो “आवश्यक परेमा माथिल्लो अस्पतालमा उपचारका लागि समन्वय र सहजीकरण गर्छाै ।”
जेष्ठ र रातो कार्ड प्राप्त नागरिकको स्वास्थ्य बीमा समेत निःशुल्क हुने बताउँदै उहाँले स्वास्थ्य परीक्षण टोलीसँगै बीमा दर्ता सहयोगी घरमै जाने व्यवस्था गरिएको जानकारी दिनुभयो । औषधि उपचारको अभाव कसैलाई नहोस् भनेर यो अभियान सञ्चालन गरिएको नगर प्रमुख रेग्मीले बताउनुभयो । उहाँका अनुसार नगर अस्पताललाई पनि स्तरबृद्धि गरिएको छ ।





