चितवनः भारतको नयाँदिल्ली स्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्यूट एण्ड रिसर्च सेन्टर र चितवनको सिएमसी क्यान्सर इन्स्टिच्यूटबीच सहयोग आदानप्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । दुई क्यान्सर इन्स्टिच्यूटबीच सीप, अनुसन्धान र प्रविधि आदान प्रदान सम्बन्धी सम्झौता भएको हो ।
सम्झौतामा राजीव गान्धी क्यान्सर इन्स्टिच्यूट एण्ड रिसर्च सेन्टरका निर्देशक प्रा.डा.सुधिरकुमार रावल र चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार राजीव गान्धीका विज्ञ चिकित्सकहरुले सिएमसीका चिकित्सकलाई तालिम दिनु हुनेछ । क्यान्सर उपचारका लागि लामो समय काम गरेर ख्यातीप्राप्त राजीव गान्धीका चिकित्सकहरुको अनुभव सहित प्रत्यक्ष रुपमा तालिम हुने चितवन मेडिकल कलेजका शैक्षिक विभाग निर्देशक प्रा.डा. गोपेन्द्रप्रसाद देवले बताउनुभयो । देवका अनुसार राजीवगान्धीका चिकित्सकहरु सहित सिएमसीमा क्यान्सर परीक्षण तथा उपचार शिविर समेत सञ्चालन गरिने छ । उहाँले भन्नुभयो “सिएमसीमा आएर बिरामीको परीक्षण र उपचार हुनेछ ।”
यस्तै नेपालका विभिन्न ठाउँमा सिएमसीले आयोजना गर्ने शिविरमा राजीव गान्धीको चिकित्सक सहभागी हुने सम्झौतामा उल्लेख रहेको प्रा.डा.देवको भनाई छ । उहाँले भन्नुभयो “अस्पतालमा र बाहिर हामीले जहाँ क्यान्सर परीक्षण शिविर राख्छौं त्यहाँ राजीव गान्धीका चिकित्सकहरु आउनुहुन्छ ।” विदेशी चिकित्सक आउँदा पूरा गर्नुपर्ने प्रक्रिया सिएमसीले गर्ने उहाँको भनाई छ ।
क्यान्सर अनुसन्धानमा पनि सहयोग आदान प्रदान हुनेछ । डा.देवले भन्नुभयो “क्यान्सरको अनुसन्धानमा पनि हामीलाई सहयोग प्राप्त हुन्छ, हामी मिलेर अनुसन्धान गर्छाै ।”
यसैगरी यहाँका चिकित्सकहरु राजीव गान्धीमा गएर तालिम लिने सम्झौतामा उल्लेख छ । प्रा.डा.देवले भन्नुभयो “यहाँ भन्दा त्यहाँ बिरामीहरु धेरै हुन्छन् । त्यहाँ तालिम लिंदा प्रभावकारी हुन्छ ।” सिएमसीका रेजिडेन्ट, डिएम, एमसिएच लगायत पोष्टमार्टरका फ्याकेल्टीहरुको पोष्टिङ राजीव गान्धीमा हुने सम्झौतामा उल्लेख छ । आवश्यकता अनुसार तीन महिनादेखि एक वर्षको तालिम हुने प्रा.डा.देवको भनाई छ ।
क्यान्सर बिरामीको तथ्याङ्क राख्ने काममा पनि सहयोग प्राप्त हुनेछ । डा.देवले भन्नुभयो “हाम्रो सूचना प्रबिधिको जनशक्तिले त्यहाँ गएर कसरी काम भईरहेको छ त्यो तालिम लिएर आउनुहुन्छ ।”
सिएमसी क्यान्सर इन्स्टिच्यूटको ट्यूमर बोर्डको बैठकमा समेत राजीव गान्धीका चिकित्सक अनलाईन मार्फत् सहभागी हुनेछन् । सिएमसीमा कुनै पनि क्यान्सरको बिरामी आएपछि उसलाई कस्तो किसिमको उपचार कसरी शुरु गर्ने भन्ने विशेषज्ञको समूहमा छलफल हुने गर्दछ । यस्ता छलफलमा राजीव गान्धीका चिकित्सकहरु अनलाईनमार्फत् अडियो भिजुअलमा सहभागी हुनुहुनेछ । प्रा.डा.देवले भन्नुभयो “उहाँहरुले छलफलमा विज्ञको राय (एक्सपोट ओपनियन) दिनुहुन्छ ।”
चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले राजीव गान्धीसँगको सम्झौताले क्यान्सर उपचारका लागि थप सहयोग पुग्ने बताउनुभयो । राजी गान्धीमा समेत आईनपुगेका कतिपय उपकरण आफूहरुले ल्याएको बताउँदै उहाँले अब विज्ञ चिकित्सक र आधुनिक उपकरणको अभावमा क्यान्सर उपचारका लागि विदेश जानु नपर्ने बताउनुभयो ।
चितवन मेडिकल कलेजले एक सय शैयाको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ सञ्चालनमा ल्याएको छ । इन्स्टिच्यूटको बिहिबार उद्घाटन गरिएको छ । इन्स्टिच्यूटमा मस्तिष्कमा रहेको ट्यूमर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, पेट सम्बन्धी क्यान्सर, कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख र गर्भाशय सम्बन्धी क्यान्सर, मूत्रासय सम्बन्धी क्यान्सर र अन्य क्यान्सरको उपचार सुरु गरिएको छ । जिल्लामानै एशियाकै नमुना क्यान्सर अस्पतालको रुपमा स्थापना गरिएको विपि कोईराला मेमोरियल क्यान्सर अस्पताल समेत रहेको छ । बिरामीकोे चापका कारण यहाँ पालो नपाएका बिरामी अहिले पनि भारत सहित अन्य देशहरु जान बाध्य छन् । सरकारी दर रेटमानै सिएमसिले क्यान्सरको उपचार थालेको छ । सरकारले दिने सहुलियत समेत यस अस्पतालमा पाईन्छ ।
बाहिर जान बाध्य भएका बिरामीलाई समेत लक्षित गरेर चितवन मेडीकल कलेजले क्यान्सर इन्स्टिच्यूट सञ्चालनमा ल्याएको हो । यो मेडीकल कलेज नेपालका मेडीकल कलेजहरुमा उपचार र पढाईका हिसाबले अग्रणी मानिन्छ ।





