चितवन: जिल्लामा रहेका दुग्ध उत्पादन गर्ने किसानहरुले दूधको उचित मूल्य नपाएको गुनासो गरेका छन् । पशु आहारको मूल्य बढ्नु र दूधको मूल्य नबढ्नुले लागत अनुसारको मूल्य पाउन नसकेको उनीहरुको गुनासो छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ५ का इन्द्रमणी गैरे पशु आहारको मूल्य बढ्नु र दूधको मूल्य यथावत रहनुले समस्यामा परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “पशु आहारको मूल्य बृद्धि भए अनुसार उत्पादित दूधको मूल्य समेत बढाउन आवश्यक छ ।” राज्यले किसानलाई स्वरोजगार बन्न भनेको भए पनि किसानले उत्पादन गरेको वस्तुको मूल्य उचित नपाउँदा समस्या भएको उहाँको भनाई छ । पशु आहारका लागि दाना, चोक्कर, औषधि लगायतको मूल्यमा भएको बृद्धिको अनुपातमा दूधको मूल्य वढाउन पाउनु पर्ने उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर २४ जगतपुरका हरिप्रसाद अधिकारी अहिले दूधको मूल्य भन्दा उत्पादन मूल्य बढि भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “प्रतिलिटर दुध उत्पादनका लागि रु ७० पर्छ । हामीले दूध बेच्दा रु ५६ देखि ६० मा बेच्नु परेको छ ।” दूधको मूल्य नबढ्दा दुग्ध उत्पादन गर्ने कृषकहरु पलायन हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “दुग्ध उत्पादक कृषकको समस्या समाधानका लागि राज्यले ठोस कदम चाल्नु पर्छ ।” सरकारले किसानहरुको समस्या समाधानका लागि पहल गर्नुपर्ने उहाँको भनाई छ ।
रत्ननगर नगरपालिका वडा नम्बर १२ का दुग्ध उत्पादक कृषक किशोर वगाले अहिलेको तत्कालको समस्या दुधको उचित मूल्य नपाउनु रहेको बताउनुभयो । उहाँले भन्नुभयो “पशु आहाकारको मूल्य बृद्धि हुनु र दुधको मूल्य सधै एकैनास हुनुले समसया प¥यो ।” दुग्ध उत्पादक किसानमा कामदारको समस्या अझै ठूलो रुपमा रहेको उहाँको भनाई छ । उहाँले थप्नुभयो “कामदार राख्यो ६ महिना पनि टिकाउन कठिन हुने गर्दछ ।”सजिलो काम भए पो कामदार लामो समय वस्ने भन्दै उहाँले दुखेसो पोख्नुभयो । कामदार नपाउने समस्या भए पनि दुधको मूल्यमा बृद्धि नहुँदा अझै ठूलो समस्याका कृषक परेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “लागत मूल्य उठाउन पनि कठिन छ ।”
माडीका सूर्य भूषालको पिडा पनि उस्तै छ । दुधको लागत मूल्य वढ्दै जाँनु र मूल्य नबढ्नुले लागत मूल्य उठाउन पनि कठिन भएको उहाँले बताउनुभयो । दुध उत्पादनका लागि पालिएका गाई भैसीकै खाने कुरा र औषधि उपचार समेत गर्न कठिन हुने गरी दुधमा घाटा बेहोर्नु परेको उहाँले दुखेसो पोख्नुभयो । अनुत्पादक पशुको निकासी गर्न नपाउँदा झन लागत मूल्य वढ्दै जाने र उत्पादीत बस्तुको मूल्य कम हुनु दुःखत भएको उहाँले बताउनुभयो । तीन तहका सरकारले नै व्यवसायीक किसानहरुको संरक्षण, सम्बर्दन र प्रोत्साहन गर्न आबश्यक रहेको उहाँको भनाई छ । कृषकहरु घासमा आधारीत पशुपालन गरेर अघि वढ्नु पर्ने उहाँले बताउनुभयो । दुध उत्पादन गरेर बिक्रि गर्दा खरिद कर्ताले समयमा भूक्तानी नदीदा समेत कृषक पलायन हुने अबस्थामा पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “दुध उत्पादन हुने समयमा समेत यस्तो समस्या बेहोर्नु परेको छ । अन्य समयमा के होला ।” दुधको माग अनुसार पुरा गर्न नसक्ने स्थिति आएमा देशको व्यापारघाट अझै बढेर जाने उहाँको भनाई छ ।
राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपाल चितवनका अध्यक्ष बिष्णु अधिकारी पशु आहारको मूल्यमा बृद्धि हुनु र दूधको मूल्य बृद्धि नहुनु मुख्य समस्याको रुपमा रहेको बताउनुभयो । उहाँका अनुसार जिल्लामा व्यवसायीक रुपमा दूध उत्पादन गर्ने फर्म २५० वटा रहेका छन् । दर्ता भएका ५ सय फर्म मध्ये अन्यफर्महरु पेशाबाट पलायन भएको उहाँले बताउनुभयो ।
उत्पादित वस्तुको उचित मूल्य नहुँदा समस्या भएको भन्दै उहाँले अहिलेको समयमा दूधको मूल्य प्रति लिटर रु १४ ले बढ्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “प्रति लिटर रु १४ ले बढ्दा पनि दूध उत्पादक कृषकको लागत उठ्ने अवस्था छैन ।” बिदेश गएका युवाहरु नेपालमानै केही गर्छु भन्ने भवनाका साथ आएको भए पनि उनीहरु समेत पछि व्यवसायबाट पलायन भएर बिदेशीन बाध्य भएको उहाँले बताउनुभयो ।
जिल्लामा हाल ४ हजार ५ सय दूध उत्पादक कृषक रहेका छन् । दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको चितवनमा यहाँको उत्पादनले कास्की, काठमाडौं, मकवानपुर लगायतका जिल्लालाई समेत धान्ने गरेको छ । यहाँ उत्पादित दूध मध्ये ५५ प्रतिशत जिल्ला बाहिर जाने गरेको उहाँले बताउनुभयो । ४५ प्रतिशत दूध जिल्लामा खपत हुने गरेको छ । जिल्लाका १० सहकारीहरु उत्पादन विभिधिकरणमा गएर दूधका परिकारहरु वनाई बिक्री बितरण गर्दै आएका छन् ।
राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले अहिलेको मूल्यमा रु १४ थप पाउने गरी बृद्धि गरिनु पर्ने बताउनुभयो । डेरी उद्योग संघले गरेको मूल्य बृद्धिलाई राज्यले मान्यता दिनु पर्ने उहाँको भनाई छ । व्यवसायीले गरेको निर्णयले कानुनी मान्यता नपाउने भएकाले यसलाई नेपाल सरकार कृषि मन्त्रालयबाट लागू गर्नुपर्ने कृषकहरुको माग रहेको न्यूरेले बताउनुभयो । कृषि कर्जा भूक्तानी अवधी नयाँ तथा पुराना कर्जालाई घटीमा १५ बर्ष ओडी मोडलमा पुनर्ताजगि गर्नुपर्ने, अनुत्पादक पशुको निकासीका लागि वैधानिक व्यवस्था गर्नुपर्ने, किसान परिचयपत्र अविलम्ब व्यवस्था गर्नुपर्ने जस्ता मागहरु राज्यले सुनुवाई गर्नुपर्ने उहाँको भनाई छ ।





