हरिराम उप्रेती, गोरखा — शान्ति प्रक्रियामा आएदेखि नै संसदीय गणितलाई आफ्नो वरिपरि घुमाउन माहिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ४४ औँ प्रधानमन्त्री बनेका छन् । सशस्त्र द्वन्द्वको आधारभूमि मानिएको गोरखाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित दाहाल प्रधानमन्त्री बनेसँगै उनले चुनावी प्रचारको क्रममा गरेको वाचाले मतदातामा उत्साह बढाएको छ ।

दाहालले सत्ताको बागडोर सम्हालेपछि यहाँका बासिन्दा आशावादी छन् । २०५२ फागुन १ मा तत्कालीन माओवादीको बैठक बसेको गोरखा, पालुङटार–८ स्थित घरमा खोपबहादुर कँडेल । उनको यही घरमा बसेको अन्तिम बैठकबाट माओवादीले जनयुद्धमा होमिने निर्णय गरको थियो । तस्बिर : हरिराम/कान्तिपुर जनयुद्धको उद्गम थलोको रूपमा गोरखालाई चित्रित गर्दै विकास र समृद्धिको यात्रालाई यहींबाट अघि बढाउने भन्दै दाहालले मतदातामा आश्वासन बाँडेका थिए । त्यसताका उनी आफूले पढाएको आरुघाट, जनयुद्धको पहिलो सैन्य तालिम लिएको सिरानचोक, पहिलो हेडक्वाटर धुवाकोट, च्याङलीको साना किसान बैंकमा पहिलो फौजी आक्रमणको बारम्बार स्मरण गर्थे ।

माओत्सेतुङ चिङकाङसाङ फर्किएजस्तै आफू पनि जनयुद्घको आधारभूमि गोरखामा नयाँ ऊर्जाका लागि आएको बताउँदै भक्कानिएका थिए । गोरखा उक्लिएका दाहालले गोरखा–२ बाट जितेनन् मात्र, प्रधानमन्त्री नै बन्न पुगे । गोरखाबाट आर्थिक क्रान्ति र विकासको महाअभियान सुरुवात गर्ने बताएका दाहालले चुनावी प्रचारकै क्रममा आफूलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा पनि प्रस्तुत गरेका थिए । गोरखाली मतदाताले उनलाई फराकिलो मतान्तरले जिताए पनि । ‘गोरखाबाट विजयी बन्दा नया गौरवको अनुभूति भएको छ, यसलाई जीवनको अन्तिम अवसर र जिम्मेवारीका रूपमा लिएको छु,’ उनले भनेका थिए । सत्ता गठबन्धनकै घटकबाट अपेक्षाकृत मत आफूलाई नआएकोमा दाहालको गुनासो पनि थियो । जनयुद्धपूर्व तत्कालीन नेकपा मसालको मुख्यालय दाहालले धुवाकोटस्थित खोपबहादुर कँडेलको धन्सारमा स्थापना गरेका थिए । जनयुद्धपूर्व दाहाल, तत्कालीन माओवादीका नेता मोहन वैद्य र रामबहादुर थापाले कँडेलकै घरमा बसेर वर्गसंघर्षको विश्लेषण गरेका थिए ।

‘०४५ सालतिरै हो, नेपालको विभिन्न ठाउँ र गोरखाका तीन गाउँको तथ्यांक लिएर वर्ग विश्लेषण भएको थियो, जनयुद्धका लागि फौजी र राजनितिक कार्यदिशाको तयारी पनि यहींबाट भएको थियो,’ कँडेल सम्झन्छन् । फौजी र राजनीतिक कार्यदिशासहित जनयुद्धमा जाने अन्तिम निर्णयका लागि २०५२ भदौ १७ र १८ मा साविकको धुवाकोट गाविसस्थित कँडेलको घरमा अन्तिम बैठक बसेको थियो । ‘गोरखा बैठक’ नाम दिइएको उक्त बैठकमा १७ नेता उपस्थित थिए । ‘हामी फोटोलाई मान्यता दिन्नथ्यौँ, अन्तिम बैठकपछि मरिन्छ कि बाँचिन्छ भनेर सामूहिक तस्बिर पनि यही घरमा लिइएको थियो,’ कँडेलले भने । तस्बिरका लागि तत्कालीन माओवादी नेता बाबुराम भट्टराईले जोडबल गरेका थिए । माओवादीको फौजी आक्रमणको सुरुवात पनि च्याङ्लीको साना किसान विकास अयोजनाबाट भएको थियो । ‘मध्य, पश्चिम र पूर्व कमाण्ड थिए, मध्यकमान्डअन्तर्गत साना किसान विकास आयोजनामा पहिलो फौजी कारबाही भएको हो,’ कँडेल भन्छन्, ‘अन्यत्र पनि एकैसाथ कारबाहीको योजना थियो, च्याङलीमा त्यो दिन साना किसान बैंकबाट तमसुक झिकेर किसानलाई वितरण गरिएको थियो ।’ विचार र राजनीतिक कार्यदिशाको दृष्टिकोणले अनुसन्धानको थलो, फौजी कारबाहीको सुरुवात भएको जनयुद्धको आधारभूमिबाट अब विकास र समृद्धिको सुरुवात हुनेमा कँडेललाई आशा पलाएको छ । ‘माओवादीको आधार क्षेत्र पनि हो, धेरै ठाउँमा वाचा पनि गर्नुभएको छ, प्रधानमन्त्री जस्तो पदमा पुगीसकेपछि केही त गर्नुहुन्छ भन्ने आशा छ,’ उनले भने, ‘निर्वाचन जितेर जनप्रतिनिधि भइसकेपछि उहाँको जिम्मेवारी पनि हो, यो उहाँको गाउँ भयो, फेरि उहाँको अभिव्यक्ति, इच्छा, चाहना र वाचाहरू पनि छन् ।’ गोरखा–२ बाट निर्वाचित सांसद ११ वर्षपछि प्रधानमन्त्री बनेका हुन् । दोस्रो संविधान सभापछि गोरखाबाट विजयी तत्कालीन माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री बनेका थिए ।

यतिबेला दाहाल उक्त पदमा पुगेपछि चुनावी वाचा पूरा हुनेमा पालुङटार–१ खोप्लाङका सन्तोष पोखरेल पनि आशावादी देखिए । ‘धुले बाटो पिच गर्छु भन्नुभएको छ, विश्वास गरेर भोट हालेको प्रतिनिधि ठाउँमा पुगेपछि केही हुन्छ भन्ने आशा छ,’ उनले भने, ‘अहिले पनि केही भएन भने यो क्षेत्रमा कहिलै केही हुँदैन, विकास, समृद्धि, सुख, सुविधा, पूर्वाधार निर्माणका कुरा देख्न पाइयोस्, यही हाम्रो अपेक्षा हो ।’ दाहाल गोरखा–२ मा नेपाली कांग्रेससँगको गठबन्धनबाट विजयी बनेका थिए । तर एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री बनेपछि कांग्रेस कार्यकर्ताले भने मिश्रित प्रतिक्रिया दिएका छन् । जिल्लाको विकास निर्माणको गति अघि बढे प्रधानमन्त्री बनेको सार्थकता बढ्ने कांग्रेसका जिल्ला सहसचिव लुमनाथ लामिछानेले बताए । ‘गोरखाबाट निर्वाचित सांसदले प्रधानमन्त्री पाउनु राम्रो कुरो हो,’ उनले भने, ‘अब जिल्लाका सडक, स्वास्थ्यको विकासमा ध्यान जाओस्, शिक्षामा सुधार होस्, यी कुराले गोरखाले प्रधानमन्त्री पायो कि पाएन भोलिका दिनमा बताउछ ।’ कांग्रेससँगको गठबन्धन नटुटोस् भन्ने चाहना रहे पनि एमालेसँगको गठबन्धन स्वाभाविक रूपमा लिएको उनले बताए । ‘कांग्रेससँगै गठवन्धन होस भन्ने चाहना हो, तर राजनितिमा सवै खेल र ढोका खुल्ला हुन्छ,’ उनले भने ।

आफ्ना लागि पनि दाहालले वाचा पूरा गर्ने गोरखा क्याम्पसका प्राध्यापक तथा कानुन व्यवसायी यादव शर्मा बताउँछन् । ‘प्रधानमन्त्री, उपप्रधानमन्त्री गोरखाले पायो भन्ने कुरामा उत्साह छ,’ उनले भने, ‘चुनावका वाचा र सर्वोच्च पद पुगिसकेपछि आफ्ना अस्तित्वका लागि पनि केही प्रयास हुन्छ, केही गर्छन्, तर सबै वाचा पूरा हुन्छ भन्न सकिँदैन । सरकार गठबन्धनको छ, सबैलाई चित्त बुझाउनुपर्छ, सरकारको साधान स्रोत पनि कति परिचालन हुन सक्छ भन्ने कुरा पनि हुन्छ ।’ दाहालले चुनावमा गरेका वाचा पत्याइहाल्ने अवस्था नरहेको द्वन्द्वपीडित तथा द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दवाडी बताउँछन् । ‘प्रचण्ड प्रधानमन्त्री भएर वाचा पूरा गर्नेमा उत्साहित र आशावादी छैनौँ,’ उनले भने, ‘द्वन्द्वपीडितले न्याय प्राप्तिको आन्दोलन गरेको दुई दशक भयो, न्याय प्राप्तिको आन्दोलन जारी छ, न्याय दिने र पीडकलाई सजाय दिने कुरामा इच्छाशक्ति देखिएन ।’ द्वन्द्वपीडितलाई न्याय दिने कुरा नयाँ प्रधानमन्त्रीले प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस !