चितवनः रत्ननगर नगरपालिकाले विपन्न नागरिकका लागि उपचार कोष स्थापना गरेको छ । नगरपालिका भित्र बसोबास गर्ने नगरबासीहरुका लागि रु ३० लाखको उपचार कोष स्थापना गरेको हो ।
बकुलहर रत्ननगर अस्पतालमा उपचार गर्ने गरी कोष स्थापना गरिएको हो । कोषको आईतबार औपचारीक शुभारम्भ गरिएको छ । कोषको सुभारम्भसंगै अस्पतालमा सहायता कक्षा स्थापना गरी काम सुरु गरिएको छ । नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले कोष सञ्चालनको लागि कार्यविधि बनाईएको बताउनुभयो ।
उहाँले भन्नुभयो “आर्थिक अभावका कारण उपचार नपाएर विपन्न नागरिकले मृत्य बरण गर्न नपरोस भनेर कोष स्थापना गरिएको हो ।” सबै नागरिकको बाच्न पाउने अधिकार उत्तिकै रहेको भन्दै उहाँले थप्नुभयो “पैसा नभएर अस्पतालबाट रोग लिएर घर फर्किनु पर्ने अबस्थाको अन्त्य गर्न कोष स्थापना गरेका हौं ।”
कोषबाट नगर भित्रका विपन्न नागरिक र सडकमा आएका नागरिकको समेत उपचार गरिने छ । वडाको सिफारिसका आधारमा बकुलहर रत्ननगर अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । एक जनालाई उपचारका लागि रु १० हजार सम्म उपलब्ध गराउने योजना रहेको छ । उपचार गर्नै नसक्नेहरुका लागि थप रकम समेत कोषबाट सहयोग गरिने छ ।
कोषको प्रभावकारीता हेरेर अर्को बर्ष रकम दोव्वर गरिने उहाँले कार्यक्रममा घोषणा गर्नुभएको छ । नगरपालिकाले चालु आर्थिक बर्षमा ३ हजार २०० विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने कामको थालनी समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस !