चितवन: जिल्लामा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार ४८६ मेट्रिकटन बृद्धि भएको हो ।
वर्ष २२ हजार ९७२ हेक्टर क्षेत्रफलमा ९६ हजार ४८२ मेट्रिकटन धान उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी मिन वहादुर पुनले बताउनुभयो । उहाँका अनुसा गत आर्थिक वर्ष २०७८–७९ मा सोही क्षेत्रफलमा ८४ हजार ९९६ मेट्रिकटन धान उत्पादन भएको थियो ।
उहाँका अनुसार गत आर्थिक वर्षमा प्रति हेक्टर ३ दशमलव ७ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष उत्पादन बढेर ४ दशमलव २ पुगेको छ ।आर्थिक वर्ष २०७७÷०७८ मा ३ दशमलब ७९ प्रतिहेक्टर धान उत्पादन भएको थियो ।
रोगहरुको प्रकोपमा कमी, कृषकहरुमा व्यवस्थापन र सचेतनाका कारण उत्पादन बढेको केन्द्रले जनाएको छ । उहाँका अनुसार धान ब्लक कार्यक्रम र कृषकहरुले रासायनिक मलको अभावमा पनि वैकल्पिक माध्यमबाट खाद्यतत्व व्यवस्थापन गरेकाले पनि उत्पादन बढेको हो ।
जिल्लाका सबै स्थानमा धान खेती हुने भए पनि पुर्वी चितवन, पश्चिम चितवन र माडीलाई पकेट क्षेत्रको रुपमा लिईने गरिन्छ । चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ, जिरा मसिना जस्ता प्रजातिका धान लगाइने गरिन्छ ।






