चितवनः मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार बन्नु भएका फिजिसियन डा. भोजराज अधिकारीले नियमित बिरामी परीक्षण शुरु गर्नुभएको छ । उम्मेदवारी मनोनयनको दुई दिन अघि नेकपा (माओवादी केन्द्र) ले लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि नियमित बिरामी परीक्षण गर्दै आउनु भएका अधिकारी निर्वाचनमा होमिनु भएको थियो ।

भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उहाँ उम्मेदवार बन्नु भएको थियो । अस्पतालको अध्यक्ष बनेपछि त्यहाँको फिजिसियन पदबाट राजीनामा दिनुभएका अधिकारीले यस अघि पुष्पाञ्जली अस्पतालमा नियमित बिरामी चेकजाँच गर्दै आउनु भएको थियो । बिरामी जाँचिरहेकै अवस्थामा पार्टीले टिकट दिएपछि उहाँ पेशा छाडेर प्रत्यक्ष राजनीतिमा लाग्नु भएको थियो ।

निर्वाचनको समयमा अस्पताल बाहिर रहनु भएका अधिकारीले नियमित स्वास्थ्य परीक्षण शुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो “अब म नियमित काममा फर्किएको छु ।” स्वास्थ्य सेवा मार्फत् राजनीतिमा सक्रिय रहने उहाँको योजना छ । निर्वाचनका समयमा आफ्नो प्रतिबद्धतापत्रमा समेटिएको जनतासँग अस्पताल कार्यक्रमलाई पराजित भए पनि निरन्तरता दिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “निर्वाचित भएको भए तीन चार वटा गाडीमा चिकित्सक, स्वास्थ्यकर्मी लगायतको टोली सहित घरघर पुग्ने योजना थियो । उपविजेता भए पनि सक्ने जति गर्छु ।”

गाउँगाउँमा गएर उपचार नपाएकाहरुलाई अस्पतालसँग जोड्ने, नियमित स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य जनचेतना जगाउने लगायतका कार्य गर्ने योजना अधिकारीको छ । उहाँले भन्नुभयो “विशेषज्ञ सहितको स्वास्थ्य शिविर, रोग पत्ता लागेकालाई अस्पताल जोड्ने, समाजमा दीर्घरोगीको खोजीका लागि परीक्षण गर्ने योजनामा छु ।” यसैगरी मधुमेह, उच्च रक्तचाप लगायतका रोगको पहिचान अभियानका रुपमा गराउने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “क्यान्सर, मुटु रोग स्क्रिनिङ गर्ने, सरकारले निःशुल्क गरेका रोगको उपचार र औषधिका बारेमा जानकारी गराउने काम अभियानमा हुन्छ ।” पिउने पानी, स्वच्छ वातावरण लगायतका बारेमा जनचेतना जगाउँदै धुम्रपान र मद्यपान विरोधी अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो । अपाङ कार्ड नभएकालाई कार्ड बनाएर उपचारमा सहयोग गर्ने उहाँको भनाई छ ।

आम नागरिकलाई सहज स्वास्थ्य पहुँच पु¥याउन जनतासँग अस्पताल अभियान प्रभावकारी ढंगले अघि बढाउने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “मानौं छारे रोग लागेर उपचार हुँदैन भनेर बसेका बिरामीलाई अस्पतालसम्म जोड्ने र उपचार गर्ने काममा म लाग्छु ।”

जिल्लामा चिनिएका फिजिसियन अधिकारी चितवन क्षेत्र नं. ३ का नागरिकलाई प्राथमिकतामा राखेर अभियान मार्फत् उपचार सेवा दिलाउने कुरामा राज्यका निकायसम्म जोड्ने अभियानमा उहाँ हुनुहुन्छ । उहाँले थप्नुभयो “म स्वास्थ्य मार्फत् राजनीति गर्ने योजनामा छु ।”

चितवन क्षेत्र नं. ३ छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा गएपछि खोजिएका उम्मेदवारका नामहरुमध्येमा धेरैले रुचाएका कारण डा. अधिकारीलाई पार्टीले छानेको थियो ।

प्रतिक्रिया दिनुहोस !