चितवनः जिल्लाको बिभिन्न अस्पतालमा उपचार गर्न आएका बिरामी मध्ये २३० जनामा स्क्रबटाईफस रोगको सङ्क्रमण देखिएको छ । १ हजार ८७३ जनाको परिक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार सङ्क्रमित मध्ये १०८ जना चितवनका रहेका छन् । यस जिल्लामा भरतपुर महानगरपालिकामा सबैभन्दा बढि ५५ जना सङ्क्रमित भेटिएको केसीले जानकारी दिनुभयो । अन्य जिल्ला बाहिरका रहेका छन् ।
गत आर्थिक वर्षमा ३ हजार २८६ जनाको परिक्षणका क्रममा २८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ । स्क्रफ टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रफ टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिले काहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।
यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने केसीले बताउनुभयो ।
यस्तै जिल्लाको बिभिन्न अस्पतालमा उपचारका क्रममा आएका बिरामी मध्ये १ हजर १६९ जनामा डेंगु रोगको सङ्क्रमण देखिएको छ । जस मध्ये ८१० जना चितवनका रहेका छन् । १७७ जनाको ठेगाना पहिचान नभएको र २४३ जना जिल्ला बाहीरका रहेका छन् । डेंगुका कारण चितवनमा २ जनाको मृत्यु भएको छ । साउन महिना यता ५ हजार ७११ जनाको परिक्षणका क्रममा उनीहरुमा डेंगु देखिएको हो ।






