चितवनः भरतपुरको मौलाकालिका अस्पतालका कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. रमेश घिमिरेसँग भिडियो एक्सरे गर्न आउने बिरामी मध्ये दैनिक सरदर तीन जना मदिरा सेवनका कारण कलेजो बिग्रेर आउने गर्दछन् । कलेजो बिग्रने अवस्थामा जाँदै गरेकाहरु दैनिक ६ जना हाराहारी आउँछन् ।
अस्पतालमा कलेजो रोग विशेषज्ञ र मनोरोग विशेषज्ञ भएकाले यस्ता बिरामी बढी हुने गरेका छन् । त्यसो त यहाँका मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल र अन्य निजी अस्पतालहरुमा यो समस्या लिएर आउनेहरुको संख्या निकै बढी हुने गरेको छ । अत्याधिक नियमित मदिरा सेवन गर्नाले कलेजो बिग्रनेहरुको संख्या दैनिक बढ्दो छ । डा. घिमिरेको भनाईमा कलेजोका कारण जण्डिस भएका, पेटमा पानी जमेरका, वान्ता गरेका बिरामी परीक्षणका लागि आउने गरेका छन् ।
यस्तै कलेजोको समस्या देखिन शुरु गरेर कलेजोमा बोसोका धेरै आउने गरेका छन् । उहाँले भन्नुभयो “फ्याटी लिभर भएका दैनिक आठ दश जना आउँछन् । ती मध्ये ७५ प्रतिशत मदिरा सेवन गर्नेहरु हुन्छन् ।” फ्याटी लिभर भएका सामान्य, मध्यम र जटिल भएर आउने गर्दछन् । उनीहरुलाई सामान्य अवस्थामा फर्काउन सकिने चिकित्सकहरु बताउँछन् । कलेजोको सिरोसिस भएकाहरुलाई पूर्ववत अवस्थामा फर्काउन कठिन हुन्छ । त्यस्तालाई प्रत्यारोपणको विकल्प हुँदैन ।
डा. घिमिरे सिरोसिस भएकाहरुको कलेजो जुटको बोरा जस्तै हुने बताउनुहुन्छ । यो अवस्थामा पुगेका बिरामीले मदिरा छोड्दा छारे रोग देखिन सक्ने उहाँ बताउनुहुन्छ ।
चितवन मेडिकल कलेजका कलेजो प्रत्यारोपण सर्जन डा. संजयकुमार यादव अस्पतालमा हालसम्म प्रत्यारोपण गरिएका ६ जना सबैको उच्च मदिराका कारण कलेजो काम नलाग्ने भएको बताउनुहुन्छ । ती मध्ये एक जनामा हेपाटाईटिस बी समेत देखिएको थियो । उहाँले भन्नुभयो “नेपालमा कलेजोमा समस्या आउने अधिकांश मदिराको कारण हो ।” लामो समयसम्म धेरै मदिरा पिउनेहरुमा कलेजोको समस्या हुने गरेको छ । धेरै मदिरा सेवन गर्नेहरु मध्ये १० देखि १५ प्रतिशतमा कलेजोको समस्या हुने डा.यादव बताउनुहुन्छ ।
नियमित धेरै मदिरा सेवन गर्नेहरुका १० देखि १५ वर्षमा कलेजो बिग्रने गर्दछ । शुरुमा कलेजो खराब भए पनि बाहिर समस्या देखिंदैन । भिडियो एक्सरे र रगत परीक्षण गर्दा मात्रै समस्या देखिने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “मदिरा सेवन गर्नेहरुले नियमित भिडियो एक्सरे वा रगतको नमूना परीक्षण गराउनु पर्छ ।” मदिरा सेवन नै नगर्न उहाँको सुझाव छ ।
मदिरा धेरै खाएकाहरुमा समस्या देखिंदै गर्दा जण्डिस हुने, पेटमा पानी जम्ने, रगत वान्ता गर्ने, बेहोस हुने जस्ता समस्या देखिने डा. यादवको भनाई छ । हेपाटाईटिस बी र सीका कारण पनि कलेजो खराब हुने गर्दछ । तौल बढी भएका, बंशाणुगत रोग हुनेहरु र कलेजोको क्यान्सर भएर पनि समस्या देखिने उहाँ बताउनुहुन्छ ।
मदिरा सेवन गर्नेहरु थाहा नभएर भन्दा पनि थाहा भएरै धेरै मदिरा सेवन गर्ने गर्दछन् । समय समयमा परीक्षण नगर्ने र अन्तिम अवस्था पुगेपछि मात्रै परीक्षण गर्दा धेरैको कलेजो पूरै काम नलाग्ने अवस्थामा पुग्ने गरेको पाईन्छ ।





