चितवनः जटिल प्रकृतिका उपचार गर्नु परेमा राजधानी काठमाण्डौं नै धाउनु पर्ने विगतको अवस्थाको अन्त्य गर्दै चितवनले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । राजधानीमा पाईने अधिकांश स्वास्थ्य सुविधा यही उपलब्ध भएका छन् भने कतिपय राजधानीमा पनि नपाईने स्वास्थ्य सेवा र उपकरण यहाँ उपलब्ध छन् ।

संघीय भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, आँखा अस्पताल, प्राकृतिक चिकित्सकलय, आयुर्वेदिक चिकित्सालय सहित सबै प्रकृतिका उपचार सेवा यहाँ उपलब्ध छन् । पछिल्लो समय देशैभरीबाट र भारतको सीमावर्ती क्षेत्रबाट समेत यहाँ उपचारका लागि बिरामी आउने गर्दछन् ।

एकिन तथ्यांक नभए पनि वार्षिक २० लाखभन्दा बढीले यहाँका अस्पतालबाट उपचार लिने गरेको अनुमान गरिन्छ । जसको प्रत्यक्ष प्रभाव स्वास्थ्य पर्यटन क्षेत्रमा पनि देखिएको छ । रु.१ अर्बसम्म लगानी गरेर निजी अस्पतालहरुले स्तरोन्नती गरिरहेका छन् । यससँगै ठूला औषधि उद्योग यही खुलिरहेका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल राजधानी काठमाण्डौंपछि उपचारमा भरतपुर अग्रणी रहेको बताउनुहुन्छ । पछिल्लो समय ठूलो प्रयासपछि भविष्यमा शिक्षण अस्पताल हुने गरी शिक्षक अस्पताल भरतपुरमा बन्ने निश्चित भएको छ । एक सय शैयाको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ ।

दाहालले भन्नुभयो “सरकारी स्वास्थ्य संस्था स्थापना, भएकाको स्तरोन्नती र निजी स्वास्थ्य संस्थालाई आवश्यक सहयोग हामीले गरिरहेका छौं ।” मेडिकल कलेजहरुसँग मिलेर आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ भने भरतपुर अस्पतालमा हेल्प डेस्क सञ्चालनदेखि महिलाहरुका लागि निःशुल्क बहिरंग टिकटको व्यवस्था महानगरले गरेको छ । यससँगै भरतपुर अस्पताल, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर आँखा अस्पताल, प्राकृतिक चिकित्सालय लगायतको स्तरोन्नतीका लागि महानगरले प्रत्यक्ष सहयोग गरिरहेको छ । महानगरभित्र ४२ वटा स्वास्थ्य केन्द्र समेत सञ्चालनमा छन् ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपाने काठमाण्डौंमा नहुने उपचार सेवा चितवनमा हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो “यहाँ नहुने सेवा काठमाण्डौंमा हुँदैन ।” उपचारको हिसाबले नेपालमा काठमाण्डौंभन्दा अगाडि चितवन रहेको दावी उहाँको छ ।

धेरै उपत्यकाका बिरामी उपचारका लागि आफ्नो मेडिकल कलेजमा आउने गरेको न्यौपानेले बताउनुुभयो । उहाँले भन्नुभयो “हाम्रोमा उपचार नहुने बिरामी नेपालमा अन्यत्र केही हुँदैन ।” अंग प्रत्यारोपणमा चर्चा कमाएको यो मेडिकल कलेजले क्यान्सर अस्पताल समेत सञ्चालन गर्दै छ । भरतपुरमा एउटा सरकारी क्यान्सर अस्पताल रहेकोमा अब थप दुई निजी क्यान्सर अस्पताल सञ्चालनमा आउने तयारीमा छन् ।

न्यौपानेको भनाईमा स्पेक्टसिटी उपकरणमार्फत् न्यूक्लियर मेडिसिन, कतिपय रेडियोथेरापी, शल्यक्रिया गरिएका बच्चा राख्ने बाल सघन उपचार कक्ष, सानो आन्द्राको रगत बग्दा गरिने परीक्षण जस्ता धेरै उपचार काठमाण्डौंमा नभएर चितवनमा मात्रै हुने गरेको छ । यही ढंगले विकास हुँदै गर्दा स्वास्थ्यमा भरतपुरले फड्को मार्दै अघि बढ्ने न्यौपाने बताउनुहुन्छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी स्वास्थ्यमा भरतपुर निकै अगाडि रहेको भन्दै अब व्यवस्थापकीय पाटोमा जुट्नु पर्ने बताउनुहुन्छ । शक्तिशाली मेडिकल सिटी बोर्ड गठन गर्नुपर्ने, भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउनु पर्ने, यहाँका दुई मेडिकल कलेजलाई सरकारी निकायसँग साझेदारी गरी काम लगाउनु पर्ने उहाँको भनाई छ ।

यससँगै सबैलाई जोडेर मेडिकल विश्वविद्यालयको अवधारणा यहाँ ल्याउनु पर्ने अधिकारी बताउनुहुन्छ । अहिले पनि कतिपय परीक्षणका लागि नमूना भारत लगायतका देशहरुमा पठाउनु पर्ने बाध्यता रहेको भन्दै उहाँले यही उच्चस्तरको परीक्षण प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । यहाँ एयर एम्बुलेन्सको सुविधा जरुरी रहेको उहाँ बताउनुहुन्छ । मूल्य र सेवालाई एकरुपता दिनुपर्नेमा अधिकारीको जोड छ । यसले यहाँको स्वास्थ्य पर्यटनमा टेवा पु¥याएको भन्दै व्यवस्थित गर्नु पर्ने बताउनुभयो ।

वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. निर्मल लामिछाने उपचारका क्षेत्रमा पछिल्लो छोटो समयमा फड्को मारेको बताउनुहुन्छ । सरकारीसँगै निजी क्षेत्र आक्रामक रुपमा अघि बढेसँगै नेपाली र भारतीय सीमा क्षेत्रका बिरामीले यहाँ सेवा पाएको उहाँको भनाई छ । सरकारीसँगै निजी क्षेत्रबाट पनि क्यान्सर उपचार हुने भएपछि क्यान्सरका सबै उपचार यही सम्भव हुने उहाँको भनाई छ । अहिले अस्पतालले बोनम्यारो प्रत्यारोपण बाहेकका सबै खाले क्यान्सरको उपचार गर्दै आएको छ ।

नयाँ प्रविधि र सेवा विस्तार हुँदै गएको उहाँ बताउनुहुन्छ । विगतको तुलनामा यहाँबाट बिरामी रिफर भएर बाहिर जाने क्रम घटेर गएको छ । यद्यपी अस्वस्थ प्रतिस्पर्धाका कारण केही स्वास्थ्य संस्थाले जिल्लामै उपचार हुने भए पनि काठमाण्डौं र भारतमा समेत पठाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !