चितवनः नेपाल नेत्रज्योती संघ चितवनद्धारा सञ्चालीत भरतपुर आँखा अस्पतालले १८ जनाको ३५ वटा आँखाको नानी संकलन गरेको छ । अस्पतालमा स्थापना गरिएको भिमराज उषामाया पाठक आँखा बैंकमार्फत आँखाको नानी संकलन गरिएको हो । एक जना व्यक्तिको एउटा आँखामा समस्या भएकाले नानीको संख्या ३५ भएको हो ।
अस्पतालले बि. सं. २०७४ सालबाट आँखाको नानी संकलन तथा प्रत्यारोपण सुरु गरेको हो । कार्यक्रम हेर्दै आउनु भएकी छायाँ श्रेष्ठका अनुसार हाल सम्म ११४ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ । उहाँका अनुसार आँखा दानका लागि ८४१ जनाले मरणोपरान्त आँखा दान गरेका छन् । विगतमा कोरोनाका कारण नानी संकलन कार्य प्रभावित भएको भएपनि पछिल्लो दिनहरुमा धेरै नानी संकलन हुन थालेको उहाँको भनाई छ । संकलित नानीहरु ४५ वर्षदेखि ९९ वर्ष उमेर समूहकाको रहेका छन् ।
अस्पतालमा कर्नीया रोग बिशेषज्ञ डा. पुष्पा गिरिको नेतृत्वको टिमले आँखाको नानी प्रत्यारोपण गर्दै आएको छ । गिरिका अनुसार प्रत्यारोपण गरिएका बिरामी मध्य आधा भारतीय हुन । सम्पर्कमा आएका सबैको प्रत्यारोपण गरिएको नानीले राम्रो काम गरेको छ । भारतीय बिरामीहरु पुनः परिक्षणका लागि कम मात्रै आउने भएकाले सबैको अबस्था थाहा नभएको उहाँको भनाई छ ।
गिरीका अनुसार मानिसको मृत्यु भएको ८ घण्टाभित्र आँखाको नानी संकलन गर्न सकिन्छ । उहाँले भन्नुभयो “मृत्युभएपछि जति छिटो नानी संकलन गर्न सकियो त्यति नै राम्रो हुन्छ ।” आँखा दान भनिए पनि आँखा पूरै ननिकालेर केवल आँखाको बाहिरी भागमा हुने पातलो नानी मात्रै निकाल्ने उहाँले बताउनुभयो । डा. गिरीले भन्नुभयो “अझै पनि मानिसहरुलाई पूरै आँखा निकालिन्छ भन्ने भ्रम छ, त्यस्तो होइन, आँखाको पातलो झिल्ली (नानी) मात्रै निकाल्ने हो ।” नानी निकालेपछि पुनः कृतिम नानी राखेर पहिलेको जस्तै अवस्थामा राखिन्छ ।
यहाँ संकलन गरिएको नानी नेपाल आँखा बैंक तिलगंगा काठमाण्डौं पठाउने गरिएको छ । तिलगंगामा नानीलाई प्रशोधन गरेपछि मात्रै प्रत्यारोपण गर्न मिल्ने उहाँको भनाई छ । आँखा दान गर्न चाहने व्यक्तिले जुनसुकै समयमा सम्पर्क गर्न सक्ने छन् । आँखा बैंक यही स्थापनाका लागि जिल्लाका समाजसेबी भिमराज पाठकले रु १ करोड ५० लाख उपलव्ध गराउनु भएको छ । सो रकमबाट आँखा बैंक स्थापना गर्ने तयारीमा अस्पताल लागेको छ ।





