चितवनः भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर ९ बस्ने ४८ वर्षिय पुरुष रहेका छन् ।
निमोनियाको समस्या भई शनिबार पुरानो मेडीकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएका उनको कोरोना पुष्टि भए संगै भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचार भईरहेको थियो । उपचारका क्रममा उनको आज दिउँसो १ः३० वजे मृत्यु भएको हो । शव व्यवस्थापनका लागि समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा हाल ८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । जस मध्ये ४ जनाको अस्पतालमा उपचार भईरहेको छ भने अन्यको होम आइसोलेसनमा उपचार भईरहेको कार्यालयले जनाएको छ । जिल्लामा तेस्रो चरणको कोरोना सङ्क्रमण सुरु भए संगै यहाँ कोरोनाका कारण मृत्यु भएको पहिलो घटना हो ।
जिल्लामा हाल सम्म ३३ हजार ७४५ जना कोरोना सङ्क्रमित भएको कार्यालयको तथ्याङ्कले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार ३३ हजार २०८ जना उपचार भई घर फर्कीएका छन् भने ४५० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस !