चितवनः जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये अहिले भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीमा सामान्य समय भन्दा १५ देखि २० प्रतिशत बिरामी बृद्धि भएको पाईन्छ ।
भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये १५ देखि २० प्रतिशत बिरामी भाइरल ज्वरोको रहेका छन् । अस्पताल बिकास समितिका अध्यक्ष एबं फिजिसियन डा. भोजराज अधिकारीका अनुसार अस्पतालको बहिरंग बिभागमा र भर्नामा आउने बिरामीको संख्या बढेको हो । उहाँले भन्नुभयो “मौषममा आएको परिवर्तनका कारण बिरामीको संख्यामा बृद्धि आएको छ ।” सामान्य ज्वरो, रुघा, खोकी देखिएर आउने बिरामीको संख्या बढि रहेको उहाँले बताउनुभयो ।
अस्पतालका बरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले कोभिडको जस्तो लक्ष्यण देखिएका बिरामीको संख्या बृद्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो “इन्फुलुन्जा हो की कोभिड अन्योलमा छौ । यसको परिक्षण आबश्यक देखिन्छ ।” बर्षातका कारण पानी दुषित हुँदा बिरामीको चाप वढेको अनुमान गरिएको उहाँले बताउनुभयो । अहिले भारतपुर अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये दैनिक २ सय जना भाइरल ज्वरो, खोकी, रुघाका बिरामी रहेको उहाँले बताउनुभयो । ज्वरोका बिरामी बढ्दै गएपछि चिकित्सकहरुले डेंगु, कोरोना, स्क्रफटाइपस लगाएतका रोगको परिक्षण समेत गाउने गरेका छन् ।
पौडेलका अनुसार आएका बिरामीहरु मध्ये डेंगु, कोरोनाका बिरामी भेटिएकाले उच्च साबधानी अपनाउनु पर्ने देखिन्छ । उहाँले भन्नुभयो “अहिले बिरामीको संख्या बढ्दै गएको छ । तर कुन इन्फुलुन्जा हो भन्ने भन्न सकिने अबस्था छैन ।”
अहिलेको समयमा भाइरल ज्वरोबाट बच्नका लागि चिसो खानेकुरा नखाने, रुघा, खोकी लागेका बिरामीको आडमा नजाने, जनस्वास्थ्यको मापदण्ड पालना गर्ने, साबुन पानीले नियमित हात धुने, पानी तताएर मात्रै खाने, लामखुटे्टेको टोकाईबाट बच्ने गर्नु पर्ने उहाँले बताउनुभयो । पछिल्लो समय आएका बिरामीमा निमोनिया र जन्डीसको समस्या समेत देखिने गरेको उहाँले जानकारी दिनुभयो । सामान्य रुपमा ज्वरो, रुघा, खोकी भएमा चिकित्सकको सल्लाहामा औषधि सेवन गर्न उहाँले सुझाब दिनुभयो ।





