चितवनः भरतपुर अस्पतालले आजदेखि बहिरंग सेवा निःशुल्क गरेको छ । अस्पतालले टिकट वापतको शुल्क नलिने निर्णय गरेको हो ।
अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार अस्पतालले लिंदै आएको रु ३० शुल्क आजदेखि नलिने निर्णय गरेको छ । अस्पताल विकास समितिको बैठकले यो निर्णय गरेको हो ।यसबाट बिरामीहरु प्रत्यक्ष लाभान्वित हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो “टिकटका लागि पालो कुर्नुपर्ने समस्याको केही हद सम्म समाधान हुन्छ ।”पछिल्ला बर्षहरुमा अस्पतालले बिरामीको उपचारमा सहयोग हुने गरि बिभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै आउको उहाँ बताउनुहुन्छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले महिला र बीमा मार्फत् आउनेहरुले यस अघि नै शुल्क नलिने गरेको बताउँदै बाँकी रहेकाहरुलाई पनि शुल्क नलिने निर्णय गरिएको बताउनुुभयो । उहाँले भन्नुुभयो आजदेखि अस्पतालको टिकट काउन्टरमा नगद कारोबार हुँदैन ।
पैसाको कारोबार गर्दा अलमल हुने र टिकट लिन लामो समय लाग्ने गरेकाले छिटो छरितो सेवा दिन पनि शुल्क नलिने निर्णय गरिएको उहाँको भनाई छ । अस्पतालमा दैनिक १ हजार ५०० हाराहारी बिरामीले बहिरंग सेवा लिने गरेका छन् । चितवन सहित २१ भन्दा बढि जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गर्दछन् । यो संघिय अस्पताल हो । संघिय अस्पतालमा बहिरंग सेवा निशुल्क गरिएको पहिलो हो । अस्पतालले बिहान ८ वजे देखि साँझ ५ वजे सम्म बहिरंग सेवा संञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !