चितवनः जिल्लामा रगतको चरम अभाव भएपछि आज काठमाण्डौं र पोखराबाट ल्याईदै छ । पोखराबाट ४०० र काठमाण्डौंबाट ४५ युनिट रगत ल्याउन लागिएको हो ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमा मार्फत् विगत १० दिनदेखि रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको चरम अभाव भएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार खेतीपाती सिजन र गर्मीका कारण संघ संस्थाले रक्तदान कार्यक्रम नगरेका हुन् ।यहाँ दैनिक १५० युनिट रगतको माग हुने गर्दछ । रगतको अभावमा बिरामीको उपचार नै कठिन हुन थालेपछि प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराबाट ओ, ए र बी समूहका चार सय युनिट रगत ल्याईउन लागिएको हो । रगत लिनका लागि गाडी पठाईएको उहाँले जानकारी दिनुभयो । साँझसम्ममा पोखराबाट ल्याउने रगत आईपुग्ने छ ।

त्यस्तै बिहीबार यहाँको चितवन मेडिकल कलेजमा एक जना बिरामीको कलेजो प्रत्यारोपण हुँदैछ । त्यसका लागि केन्द्रीय रक्तसञ्चार सेवा काठमाण्डौंबाट ४५ युनिट रगत ल्याईदै छ । एउटै बिरामीका लागि त्यो रगत जगेडामा राख्ने गरी ल्याउन लागिएको हो ।काठमाण्डौंबाट जहाजमार्फत् रगत ल्याउन लागिएको पौडेलले जानकारी दिनुभयो । रगत अभाव पूर्तिका लागि बिरामीका आफन्त र केन्द्रले जिल्लाका रक्तदातालाई डाकेर रगतको व्यवस्थापन गर्दै आएको छ । केन्द्रले बोलाएपछि रगत दिनेहरु ३ हजार हाराहारी रक्तदाता रहेको पौडेलको भनाई छ ।

जिल्लामा सबैभन्दा बढी रगतको माग क्यान्सर अस्पतालमा हुने गर्दछ । रक्तक्यान्सर भएका एउटै बिरामीलाई ४०० युनिटसम्म रगत दिएको कार्यालयमा तथ्यांक रहेको पौडेलले बताउनुभयो । यहाँको आधा रगत क्यान्सरका बिरामीका लागि जाने गर्दछ । क्यान्सरका अतिरिक्त यहाँ रहेका दुई मेडिकल कलेज, भरतपुर अस्पताल र दुई दर्जन निजी अस्पतालमा रगतको माग हुने गर्दछ । मेडिकल कलेजहरुमा अंग प्रत्यारोपणसम्मका उपचार हुने हुँदा रगतको माग उच्च हुने गर्दछ । राजधानी काठमाण्डौंपछि धेरै प्रसुती भरतपुरमा हुने गर्दछन् । दुर्घटनाका बिरामीको संख्या पनि यहाँका अस्पतालहरुमा धेरै हुने गर्दछ । प्रसुती र दुर्घटनाका घाईतेहरुलाई पनि रगतको माग बढी हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस !