चितवनः जिल्लामा गत आर्थीक वर्षमा २१३ जनामा डेंगुरोगको सङ्क्रमण देखिएको छ । ३ हजार ५६४ जनाको परिक्षणका क्रममा सो संख्यामा डेंगु रोगको संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार यो संख्या आर्थिब वर्ष २०७७÷०७८ को भन्दा कम हो । त्यस वर्षमा १ हजार ९८६ जनाको परिक्षणका क्रममा २४७ जनामा डेंगु रोगको सङ्क्रमण देखिएको थियो ।
एडिस जातिको पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने गर्दछ । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् । एक प्रकारको विषाणुबाट डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुने ढकालले जानकारी दिनुभयो । डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ ।

यो रोगबाट बच्न साँझपख लामो कपडा लगाएर बाहिर निस्कने, झुल भित्र बस्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्नुपर्दछ । यस्तै जिल्लामा गत आर्थिक वर्षमा २६८ जनामा स्क्रफ टाईफस रोगको सङ्क्रमण देखिएको छ । ३ हजार २८६ जनाको परिक्षणका क्रममा उनीहरुमा स्क्रफ टाइफसको देखिएको हो । आर्थिक वर्ष २०७७÷०७८ मा २ हजार २९० जनाको परिक्षणका क्रममा ३१८ जनामा स्क्रफ टाईफस देखिएको थियो । स्क्रफ टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ ।

स्क्रफ टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिले काहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।
यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !